×

वीरगञ्ज २५ असार । वीरगञ्जलाई व्यवस्थित बनाउँन भन्दै अभियानकर्ताले पसल अगाडी तारवार लगाएपछि मारमा परेका व्यवसायीहरु आन्दोलित भएका छन् । अभियानकर्ताहरुले लगाएको तारवारका कारण व्यापार र व्यवसाय चौपट भएको बताउँदै घण्टाघरदेखि माइस्थानसम्मका पसल सञ्चालकहरु विरोधमा उत्रेका हुन् ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत वीरगञ्जका विभिन्न संघ संस्थाहरुसँगको समन्वयमा सुरु गरेको अभियान अन्तर्गत शहरलाई व्यवस्थित बनाउँन घण्टाघरदेखि माइस्थान चोकसम्म रहेको पार्किङ्गलाई हटाएर त्यहाँ तारवार लगाइएको छ । पार्किङ्गलाई व्यवस्थति गर्दै दुई तर्फी आवतजावत हुने सडकलाई फराकिलो गर्न यस्तो गरिएको अभियान्ताले बताउँने गरेका छन् ।

तर, घण्टाघरदेखि माईस्थान चोकसम्म पसल सञ्चालन गरेर बसेका व्यवसायीहरुले भने पार्किङ्ग नलाग्दा आफ्नो व्यापार व्यवसाय चौपट भएको बताएका छन् । उनीहरुका अनुसार पार्किङ्ग नहुँदा ग्राहकले यस क्षेत्रमा सामान खरिद गर्न छोडेका छन् ।

घण्टाघर नजिकै थोक कपडा पसल सञ्चालन गरेर बसेका आदित्य बरनवालले लकडाउनले पहिला देखि चौपट भएको व्यापार पार्किङ्ग नहुँदा थप बर्बाद भएको बताए । 'तिन महिना लागको लकडाउनले हामी पहिलादेखि नै मार्कामा परेका थियौँ,' बरनवाले भने, 'अब यो नयाँ नियमले बोहनी समेत हुन छोडेको छ, हामीले अब के गर्ने?

त्यस्तै जुत्ता-चप्पल पसलका सञ्चालक मोहम्मद लासिदले पार्किङ्ग नहुँदा ग्राहक नै आउँन छोडेको बताए । उनले यस्तै चले पसलको साँचो अभियानकर्तालाई बुझाउन आफुहरु बाध्य हुने बताए ।

व्यवसायीहरुले पार्किङ्ग हटाउन पुर्व प्रहरीले आफुहरुसँग छलफल नगरेको गुनासो गरेका छन् । 'पार्किङ्ग हटाउँदा सबैभन्दा बढी प्रभावित हामि हुने हौँ तर हामीसँग समन्वय नै गरिएन,' पान गल्लिमा रहेको इलेक्ट्रिक पसलका मालिक धर्मनाथ सर्राफले भने, 'पार्किङ्ग हटाउँन भन्दा पहिला हामीलाई कुनै सूचना पनि दिइएको थिएन, अचानक आएर भोलीदेखि यहाँ पार्किङ्ग गर्न मिल्दैन भनेर घोषणा गेर, हाम्रो पिडा कसले बुझ्ने?'

व्यवसायीहरुले सशुल्क भएपनि पार्किङ्ग पूरानो व्यवस्था अनुसार हुनुपर्ने माग गरेका छन् । उनीहरुले स्थानीय प्रहरी र प्रशासनले आफ्नो मा पूरा नगरेर कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

Back to top