×

वीरगञ्ज २६ जेठ । वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा बहुराष्ट्रिय कम्पनीहरुको तर्फबाट पनि सहयोग आउन थालेको छ ।

कोरोना भाईरस न्यूनिकरणका लागि वीरगञ्ज महानगरपालिकाले पीसीआर मेशिन र भिटिएम किट खरिदका लागि स्थापना गरेको कोरोना कोषमा आज बहुराष्ट्रिय कम्पनी सूर्या नेपालले १५ लाख रुपैंया सहयोग गरेको छ । सूर्या नेपालका महाप्रबन्धक प्रभाकर शाहले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई १५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका छन् ।

महानगरप्रमुख सरावगीलाई कार्यकक्षमै पुगेर शाहले चेक हस्तान्तरण गरेका हुन् । कोरोना संक्रमणका कारण रेडजोनमा रहेको वीरगञ्जलाई ग्रीन जोनमा ल्याउनका लागि वीरगञ्ज महानगरपालिकालाई गरेको साथ र सहयोगले अझै हौसला प्राप्त भएको बताउदै मेयर सरावगीले कोरोना कोषमा आएको सहयोगले आफुलाई थप उर्जा प्राप्त भएको बताए ।

आज (सोमबार) नै नेपाल जेसिजले ५१ हजार र वीरगन्ज कलेज प्रालिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले व्यक्ति १५ हजार रुपैंया कोषमा सहयोग गरेका छन् । जेसिजका अध्यक्ष विजय गुप्ताको नेतृत्वमा गएको जेसिजका टोलीले मेयर सरावगीलाई ५१ हजार रुपैंयाको चेक हस्तान्तरण गरेका थिए ।

त्यस्तै डाक्टर दिपेन्द्र चौधरीले आफ्नो व्यक्तिगत १५ हजारको चेक हस्तान्तरण गरे । वीरगञ्जमा पीसीआर मेशिन जडानका लागि संघ सरकार र प्रदेश सरकारले शुरुमा निराशा पैदा गरेको र अहिले महानगरपालिकाका प्रमुख विजय सरावगीको भूमिका सराहनीय रहेकोले सहयोग गरेको बताएका छन् ।

Back to top