×

वीरगञ्ज, जेठ १३ - वीरगञ्जको गण्डक अस्पतालमा उपचाररत २१ कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् ।

उनीहरूको पच्छिलो दुई रिपोर्ट नेगेटिभ आएपछी उनीहरू डिस्चार्ज भएका हुन् । नारायणी अस्पतालको अस्थायी अस्पतालका रूपमा समेत सञ्चालित गण्डकबाट मङ्गलबार राति साढे १० बजे २१ सङ्क्रमित डिस्चार्ज भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

डिस्चार्ज हुनेमा ४ जना महिला र १६ जना पुरुष छन् । आज डिस्चार्ज भएका सबै वीरगञ्ज महानगरपालिका वासी रहेको वीरगञ्जका मेयर विजयकुमार सरावागीले बताए ।

‘दुई जना बालबालिका सहित २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्,’ मेयर सरावगीले भने, ‘डिस्चार्ज हुने सबै वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् ।’

गत वैशाख २७ र ३० गते कोभिड- १९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा बेड अभाव भएकाले २१ जना संक्रमितलाई संक्रमण भएको पहिलो २ दिन घरमै सेल्फ आइसोलेसनमा राखेको थियो ।

त्यसपछि सिद्धार्थ माध्यमिक विद्यालयलाई सेमी आइसोलेसनमा परिणत गरी २१ जना संक्रमितलाई त्यहाँ राखिएको थियो । वीरगञ्ज महानगरपालिकाले यहाँको गण्डक अस्पतालसँग सम्झौता गरी त्यसलाई अस्थायी कोभिड अस्पताल बनाएपछि गत वैशाख ७ गते सिद्धार्थ माविको सेमी आइसोलेसनबाट २१ जना संक्रमितलाई सारिएको थियो ।

गण्डक अस्पताल अहिले नारायणी अस्थायी कोभिड अस्पतालको रूपमा सञ्चालन भइरहेको छ । अस्थायी अस्पतालमा ३० जना संक्रमित भर्ना भएका थिए । ‘२१ जना डिस्चार्ज भएपछि अब ९ जना कोरोना संक्रमित मात्र बाँकी छन्,’ मेयर सरावगिले भने, ‘उनीहरूमा पनि कोरोनाको कुनै लक्षण देखिएको छैन । स्वास्थ्य अवस्था सामान्य छ ।’

यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सबै संक्रमित डिस्चार्ज भइसकेकाले नारायणी अस्पताल कोरोना मुक्त भइसकेको छ । नारायणी अस्पतालमा पुनः जनरल सेवा सुचारु गर्ने तयारी भइरहेको छ ।

Back to top