×

वीरगंज, जेठ ११ । कोरोना भाइरसबाट संक्रमित भई वीरगंजका विभिन्न आइसोलेसन वार्डमा उपचारकालागि भर्ना भएकाहरुलाई आज वीरगंज महानगरपालिकाले रोग प्रतिरोधात्मक क्षमता बढाउन च्यवनप्राश लगायत आयुर्वेदिक औषधी उपलब्ध गराएको छ ।

वीरगंजको नारायणी अस्पताल र कोरोना विशेष अस्पताल गण्डकको आइसोलेसन वार्डमा भर्ना भएकाहरुलाई यो सामग्री उपलब्ध गराइएको हो ।

आइसोलेसनमा भर्ना भएकाहरुको लागि ९९ सेट च्यवनप्राश सहित इम्युनो केयर ६० उपलब्ध गराइएको छ ।

इम्युनो केयर ६० गिलोय, मुलैठी अश्वगन्धा, शिलाजित, सुठो मिलाएर बनेको हुन्छ ।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता धेरै भएमा कोरोनालाई सहजै जित्ने विज्ञहरुको विश्वास रहेका कारण अस्पतालमा उपचाररत सबै संक्रमितहरुका लागि दश दिन सम्म पुग्ने गरि रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधीजन्य सामग्री उपलब्ध गराइएको वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले बताउनु भयो ।

Back to top