×

वीरगंज ११ जेठ । सीमावर्ती शहर रक्सौलमा ३ सय नेपाली नागरिकलाई भारतीय पक्षले नेपाल जान अनुमति दिए पनि नेपाल सरकारले लिखित रुपमा नेपाली नागरिकलाई बोलाउन पहल नगरेकोले नेपाली आउन नसकेको भारतीय दूतावासका अधिकारीले बताएका छन् ।

सीमावर्ती शहर रक्सौलका हजारी मल्ल कलेजन, रक्सौल रेल्वे स्टेशन र कौडिहार चोक नजिकको एक विद्यालयमा गरी करिब ३ सय नेपाली क्वारेन्टाइनको बास बसिरहेका छन ।

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीले भने, ‘वीरगंज र पर्साका विभिन्न क्वारेन्टाइनमा फसेका २१० जनालाई भारत सरकारले लिखित रुपमा आईसिपी नाकाबाट स्वदेश फिर्ता गराएको छ, हामीले सबै कागजी प्रकृया पुरा गरी नेपालका सुरक्षा अधिकारी तथा मन्त्रालयसँग समन्वय गरेका थियौं, तर नेपाली अधिकारीहरुले मौखिक रुपमा मात्र ल्याउन दबाब दिइरहेका छन्।’

उनले रक्सौलको ३ वटा क्वारेन्टाइनमा नेपालका २५ जिल्लाका ३ सय जना फसेको जानकारी प्राप्त भएको तर लिखित रुपमा कुनै कागजात अघि नबढ्दा भारतको गृह मन्त्रालयले छोड्न नमानेको दावी गरे । ‘नेपालले लिखित रुपमा चाहेको भए बुधवार नै भारतको माथिल्लो निकायबाट नेपाल पठाइसकिएको हुन्थ्यो ।

यस विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भारतीय अधिकारीसंग सहकार्य भइरहेको तर पठाउन नमानेको बताए । उनले भने, ‘सायद २६ मे देखि दुबै देशवीच आदानप्रदान गर्ने योजना छ, त्यसपछि आउँछन् की ?’

Back to top