×

वीरगञ्ज जेठ ८ - पर्सामा क्वारेन्टाइनमा बस्ने भन्दा होम क्वारेन्टाइनमा (घरमै) बस्नेको मानिसको संख्या बढी रहेको पाइएको छ ।

कोरोना संक्रमण फैलिन नदिन संक्रमणको जोखिममा रहेकालाई १४ दिनसम्म क्वारेन्टाइन राखेर निगरानी गरिन्छ ।तर कोरोना संक्रमणको हटस्पट बनेको पर्सामा ३१ जना महिलासहित ४०० जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । ६६७ जना होम क्वारेन्टाइनमा बसेको सरकारी अधिकारीहरु बताउँछन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार क्वारेन्टाइनमा बस्नेमा भारतबाट आएका र कन्ट्याक ट्रेसिङको आधारमा कोभिड १९ शंकास्पद मानिएका व्यक्तिहरु छन् ।

२५ वटा स्थानीय तहमा एक हजार बेड क्षमताको क्वारेन्टाइन भए पनि होम क्वारेन्टाइनमा बस्ने मानिसको संख्या बढी छ ।

तर स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनको व्यवस्थापन उचित नभएका कारण मानिसहरुले होम क्वारेन्टाइनमै बस्न रुची देखाएका हुन् ।

होम क्वारेन्टाइनमा बस्नेहरुले सजगता नअपनाउने हो भने परिवार र समुदायमा पनि यसले नकरात्मक असर पार्न सक्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।

 

Back to top