×

वीरगञ्ज २७ वैशाख । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आइतवारदेखि वीरगन्जका सबै बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने भएका छन् ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । राष्ट बैंकले मातहतका बैंक तथा बित्तीय संस्थाहरुलाई सोही निर्णयका आधारमा आइतवारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ । ‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए । उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए । सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ ।

Back to top