×

वीरगञ्ज, बैशाख १९ - नेपालका लागि भारतको कोलकाता बन्दरगाहसम्म आइपुगेका कण्टेनर कार्गो नेपाल र भारतमा जारी लकडाउनका कारण त्यहीँ अड्किएका छन् । लकडाउनले सडकमार्गबाट ढुवानी अवरुद्ध भएपछि कोलकाता बन्दरगाहमा कण्टेनर थुप्रिएका हुन् ।

सडकमार्गबाट नेपालसम्म ल्याउन लागिएका कण्टेनर बन्दरगाहमा रोकिएपछि कोलकाता बन्दरगाह प्रशासनले त्यस्ता कण्टेनरलाई नजिकैको कन्टेनर फ्रेट स्टेशन (सीएफएस)मा पठाउने तयारी गरेको छ ।

बन्दरगाहले बिहीवार सूचनामार्फत रोकिएका कण्टेनर सीएफएसमा पठाइने बताएको हो । ‘लकडाउनअघि आइपुगेका कतिपय कण्टेनर अहिलेसम्म उठाइएको छैन । यसले बन्दरगाह नै जाम भएको छ । व्यवस्थापनका लागि यहाँका कण्टेनर अन्यत्र पठाउन लागिएको हो,’ बन्दरगाह ट्राफिक व्यवस्थापक हिमांशु शेखरले आर्थिक अभियानसँग टेलिफोन कुराकानीमा भने ।

सीएफएसमा कण्टेनर राखेबापत आयातकर्ताले ढुवानी र व्यवस्थापन शुल्कबापत २० फीटको कण्टेनरको ६ हजार र ४० फीट कण्टेनरको ८ हजार भारतीय रुपैयाँसम्म तिर्नुपर्नेछ । भारतमा मे ३ सम्म लकडाउन छ । त्यसपछिको १५ दिन (मे १८ तारिख) सम्म आयातकर्ताले सीएफएसलाई जरीवाना र अतिरिक्त शुल्क तिर्नु नपर्ने बन्दरगाहको पत्रमा उल्लेख छ । २३ अप्रिलसम्म बन्दरगाहमा अनलोड भएका कण्टेनरलाई सीएफएसमा पठाउन लागिएको हो ।

कोलकाता बन्दरगाहले भारतमा लकडाउन शुरू भएको २२ मार्चदेखि जारी रहँदासम्मको अवधिमा कण्टेनर राखेबापत कुनै प्रकारको अतिरिक्त शुल्क र जरीवाना नलिएको शेखरले बताए । सामान्य अवस्थामा बन्दरगाहले सडकमार्गमा ढुवानी हुने कार्गोलाई १० र रेलमा २० दिनको निःशुल्क समय दिन्छ । यो अवधिमा कण्टेनर नलगे जरीवाना तिर्नु पर्दछ ।

अहिले कोलकाता बन्दरगाहमा नेपालका लागि सकडमार्गबाट ढुवानी हुने ४ हजारभन्दा बढी कण्टेनर थुप्रिएको पोर्ट ट्रष्टका अध्यक्ष विनीतकुमारले बताए । रेलमार्गबाट आउने करीब ५०० कण्टेनर भएको बताइएको छ ।

बन्दरगाहमा अहिले करीब ११ हजार कण्टेनर पुगिसकेको अध्यक्ष विनीतकुमारले जानकारी दिए । बन्दरगाहमा कण्टेनरको जाम बढेपछि पानीजहाजबाट बन्दरगाहसम्म आइपुगेका कण्टेनर अनलोड गर्न समस्या आइपरेको बन्दरगाह व्यवस्थापनले बताएको छ ।

Back to top