×

वीरगञ्ज १२ बैशाख । खाद्यान्न उद्योग सञ्चालनका लागि सरकारले अनुमति दिए पनि आवश्यक वातावरण तयार हुन नसकेपछि अहिले यी उद्योग सञ्चालनमा झनै समस्या थपिँदै गएको छ । समयमै आवश्यकीय पूर्वाधारहरूको व्यवस्थापन नभएमा खाद्य उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने सरोकारवालाहरू वताउँछन् ।

दाल चामल तेल संघका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार उद्योग चल्न विभिन्न सहायक तत्त्वको व्यवस्थापन हुन नसक्दा दिन प्रतिदिन उद्योगहरूको उत्पादन क्षमता घट्दै गएको छ । हाल कुनै पनि खाद्य उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । अहिले सञ्चालनमा रहेका ४० प्रतिशत उद्योग करीब ३० प्रतिशत क्षमतामा मात्र चलिरहेको उनको भनाइ छ ।

सामान्य अवस्थामा नेपालमा सञ्चालित खाद्यान्न उद्योगहरूले वार्षिक कुल मागको करीब ६० प्रतिशत चामल, ६२ प्रतिशत दाल र ३५ प्रतिशत तेल उत्पादन गर्छन् । हाल यी सबै उत्पादनमा करीब ५० प्रतिशतले कमी आएको छ । त्यसैले उद्योगहरूको सहज सञ्चालनका लागि सरकारले पूर्वाधार व्यवस्थापन गर्न सहजीकरण गरिदिनुपर्छ । । त्यसो हुन नसके उद्योगहरू बन्द हुने उनको बुझाइ छ । सबैजसो उद्योगमा काम गर्ने ६०/७० प्रतिशत कामदारहरू घर गइसकेका छन् भने भारतबाट काम गर्न आएका कामदारहरू घर जान नसकेर उद्योगमै बसेका छन् । उनीहरूकै भरमा अहिले उद्योग चलिरहेको छ ।

उद्योगमा काम गर्ने स्थानीय श्रमिकहरू पूर्ण श्रमिक पनि होइनन् । उनीहरू बिहान बेलुका आफ्नै खेतिपातीमा काम गर्ने र दिनको समयमा मात्र उद्योगहरूमा काम गर्छन् । त्यसैले उनीहरू उद्योगमा बस्न मान्दैनन् । उनीहरूलाई उद्योगसम्म आवतजावतको समस्या छ ।

उद्योगका लागि चाहिने आवश्यकीय कच्चा पदार्थ र सहायक वस्तुहरूको अभाव दिनदिनै बढिरहेको उद्योगीहरू बताउँछन् । सरकारले खाद्यान्न उद्योग सञ्चालनका लागि अनुमति त दिएको छ तर उद्योग सञ्चालन भएर मात्र नपुग्ने उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले बताए । उनका अनुसार खाद्य उद्योगका लागि आवश्यक बोरा, प्लास्टिक र कार्टुनलगायत उद्योगहरू पनि चल्नुपर्ने हुन्छ ।

‘अहिले यी कच्चा पदार्थका उद्योगहरू नचल्दा खाद्यान्न उद्योगहरूले उत्पादन गरेका खाद्य वस्तुहरू प्याकेजिङमा समस्या भएर बजारमा जान नसक्ने अवस्थामा छ । त्यसैले उद्योगहरूको पूरै साइकल बिग्रेको छ,’ उनले भने । अहिले विराटनगर, वीरगञ्जलगायत देशभरिका उद्योगहरूको उत्पादन ५० प्रतिशतभन्दा बढी घटेको उनले जानकारी दिए । पार्टपुर्जालगायत उद्योगमा प्रयोग हुने करीब ७०/८० प्रतिशत कच्चापदार्थ समेत भारतबाट आउने भएकाले काम गर्न समस्या भइरहेको उनको भनाइ छ ।

चन्द्र शिव राइस एन्ड आयल मिल विराटनगरका सञ्चालक नरेश राठीले अहिले आफ्नो मिलमा तोरी आयात गर्न नसकिएको र धानको आयातसमेत घटेको बताए । मिलमा स्टक रहेको तोरी र धानलाई समेत कामदार अभावका कारण उपयोग गर्न नसकिएको उनले जानकारी दिए । अहिले बोरा उद्योगमा समेत समस्या भएकाले खाद्यान्न उद्योगहरूमा बोरा पठाउन गाह्रो भइरहेको कृष्ण फ्रेब्रिकेट्स बोरा उद्योगका सञ्चालक सन्तोष अटलले बताए । उनका अनुसार नेपालमा बोरा बनाउने कच्चा पदार्थ साउदीबाट भित्रिने गर्छ । तर, अहिले कच्चा पदार्थ आउन सकेको छैन भने कामदारसमेत छैनन् ।

Back to top