×

वैशाख ८, वीरगञ्ज । कोराना संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई जारी राखेको छ । मानिसहरू भिडभाडमा नजाउन् र सामाजिक दुरी कायम रहोस् भन्ने उद्देश्यले लकडाउन लागू गरिएको हो ।

वीरगञ्जका वाणिज्य बैंकहरुमा भने यही बेला ग्राहकको भीडले संक्रमणको जोखीम बढाएको छ । संक्रमण फैलिन नदिन एउटा मानिसबाट अर्कोबीच कम्तीमा एक मीटर दुरी राख्नुपर्ने भनिए पनि वीरगञ्जका अधिकांश बैंकले यसको प्रबन्ध मिलाउन सकेका छैनन् ।

लकडाउनको एकसतापछि बैंक तथा वित्तीय संस्थाहरुले प्रतिदिन ११ देखि १ बजेसम्म सेवा सञ्चालन गरे । वीरगञ्जमा एकैदिन ३ जना भारतीयमा कोरोना संक्रमण पूष्टि भएपछि जोखिम बढेको भन्दै आलोपालो अपनाए । वीरगञ्जका २७ ओटा वाणिज्य बैंकले गत हप्तादेखि अलोपालो सेवा दिइरहेको वीरगञ्ज बैंकर्स समूहका अध्यक्ष एवं नेपाल इन्भेष्टमेण्ट बैंकका प्रबन्धक रोशनभक्त श्रेष्ठले बताए ।

अहिले वीरगञ्जमा दैनिक १२ ओटासम्म बैंकका शाखा खुला गरिएको थियो । त्यसअघि हप्तामा ६ दिन सेवा दिएका बैंकहरूले आलोपालो अपनाएपछि एउटा बैंक हप्तामा २ दिन खोलिएको छ । बैंक कर्मचारी र ग्राहकमा संक्रमणको जोखीम न्यूनीकरणका लागि वीरगञ्जमा बैंकबीच आलोपालो सेवा दिने सहमति भएको श्रेष्ठले बताए ।

तर, आलोपालोमा बैंक खुलेपछि सरोकारका बैंकमा सेवाग्राहीको भीड ह्वात्तै बढेर दुरी व्यवस्थापनमै समस्या देखिएको छ । यसअघि हस्तामा ६ दिन सेवा लिन सकिने बैंक २ दिनमात्र खुल्ने भएपछि ग्राहकको भीड बढेको बैकका प्रबन्धकहरू बताउँछन् ।

‘सेवाग्राहीले बैंकका सुरक्षाकर्मीलाई टेर्दैनन् । स्थानीय प्रशासनले प्रहरी खटाइदिए सेवा दिन सजिलो हुने थियो,’ एकजना बैंक प्रबन्धकले भने ।

बैंकमा व्यावसायिक उद्योगी व्यवसायीको भीड बढी लागेको छ । बैंकहरुले एक जनालाई रू.१० लाखभन्दा बढी नगद भुक्तानी दिंदैनन् । योभन्दा बढी रकम चाहिएमा एउटै प्रतिष्ठानले ३÷४ जना मानिस खटाउने गरेकाले भीडभाड बढी भएको बैंकर्सहरु बताउँछन् । सरकारले यो असहज अवस्थमा भुक्तानीलाई केही सहज बनाइदिए पनि भीड कम हुने उनीहरूको भनाइ छ ।

आफ्नै भवन र फराकिलो संरचना भएका बैंकका शाखाले भिड नहुने गरी सेवा व्यवस्थापन गरेका छन् । तर, भाडाको घरमा सञ्चालित अधिकांश बैंकलाई अहिले सेवा प्रवाह सकसपूर्ण बनेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुुकुमार कार्की बैंकमा प्रखरी खटाउन नसकिने बताउँछन् । ‘कसरी सेवा सहजीकरण गर्ने, त्यो बैंकहरुको दायित्व हो । हामीसँग भएको जनशक्ति अन्यत्र खटाउनै अपुग भइरहेको छ । बैंकैपिच्छे प्रहरी खटाउन सकिन्न,’ प्रमुख जिल्ला अधिकारी कार्कीले भने । वीरगञ्जका बैंकहरुलाई भीड नहुने गरी काम गर्न निर्देशन दिइसकिएको उनले बताए ।

वीरगञ्जका वाणिज्य बैंकहरुको नियमन गरिरहेको नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक राजनबिक्रम थापा अहिलेको असहज अवस्थामा संक्रमणको जोखीम बढ्न नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँछन् ।

‘यो अकल्पनीय परिस्थिति हो, यसको व्यवस्थापनका लागि सवै पक्ष उत्तिकै जिम्मेवार हुनु पर्दछ,’ थापाले भने ‘बैंकमा अति आवश्यक काम परेमा बैंक खुल्ने दिन र समय सुनिश्चित गरेर मात्रै बैंकमा जानु पर्दछ । तोकिएबमोजिमको सुरक्षा सावधानी अपनाएर सामाजिक दुरी कायम गर्नु बैंकका ग्राहकलगायत सवैको कर्तब्य हो ।’

वीरगञ्जका बैंकमा बढिरहेको ग्राहकको भीड र दुरी व्यवस्थापन हुन नसक्दा निम्तिएको जोखीम र समाधानका उपायमा बारेमा आर्थिक अभियानले नेपाल राष्ट बैंकका निर्देशक राजनबिक्रम थापासँग गरेको संक्षिप्त कुराकानी :

लकडाउनको अवधिमा वीरगञ्ज क्षेत्रका वित्तीय सेवाको व्यवस्थापन कसरी भइरहेको छ ?

भारतसँगको सीमाना जोडिएर रहनुका कारण वीरगञ्ज र आसपासको क्षेत्र कोरोनाको संक्रमणको उच्च जोखीमा भए पनि यस क्षेत्रमा वित्तीय सेवाहरू नियमित रुपमा प्रवाह भइरहेको छ । विद्युतीय माध्यमबाट प्रदान गरिने एटिएम, ईन्टरनेट बैंकिग, मोवाइल बैंकिगमार्फत ग्राहकहरुले नियमित सेवा पाइरहनु भएको छ । लकडाउनको समयमा एकैसाथ सवै बैंक तथा वित्तीय संस्थाहरु खोल्दा मानिसहरुको भिडभाड बढने र संक्रमण फैलने जोखिम बढने खतरा हुन्छ । अतः यस क्षेत्रमा रहेका बैंकहरूवीच आलोपालो बैंक खोल्न सहमति कायम भएको छ ।

लकडाउनको अवधिमा यसरी सेवा दिँदा बैंकमा भिड बढेको र यसको व्यवस्थापन हुन नसकेको गुनासो छ नि ?

यो अकल्पनीय परिस्थिति हो । यसको व्यवस्थापनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनु पर्दछ । बैंकमा अति आवश्यक काम परेमा बैंक खुल्ने दिन र समय सुनिश्चित गरेर मात्रै बैंकमा जानु पर्दछ । तोकिए बमोजिमको सुरक्षा सावधानी अपनाएर सामाजिक दुरी कायम गर्नु बैंकका ग्राहकलगायत सवैको कर्तब्य हो । तर यो पालना गर्न सकेको देखिदैन । खासगरी ग्राहकले अन्य सामान्य दिनमा जस्तै भिडभाड गर्ने र सामाजिक दुरी पालना नगर्ने गरेको पाईयो । बैंकले खटाएको सुरक्षा गार्डलाई नटेर्ने र प्रशासनले हरेक बैंकलाई अलग्गै सुरक्षाकर्मी उपलब्ध गराउन सक्ने अवस्था नरहेका कारण केही समस्या देखिएको हो ।

यसको सुधारका लागि के उपाय हुन सक्छन् ?

ग्राहकले विद्युतीय माध्यमबाट नै कारोबार रगर्ने बानी बसाल्नु राम्रो हो । व्याज तिर्ने समय पनि प्रदान गरिएको कारण लकडाउन पछि बुझाउन सकिन्छ । आकस्मिक सेवा आवश्यक परे जुनसुकै बेला प्रदान गर्ने बैंकहरूबाट प्रतिवद्धता जनाइरहेको अवस्था छ । लकडाउनका वेला ठूला आर्थिक कारोवार समेत गर्नु जोखिम रहेकोले ग्राहकहरु यसमा होसियार हुनु पर्दछ । बैंकले पनि खोल्ने दिन सकेसम्म ग्राहकहरुलाई परिसरभित्र सामाजिक दुरी कायम गर्ने र बढि कर्मचारी खटाएर शीघ्र सुविधा दिने प्रयास गर्नु पर्दछ । प्रशासनिक निकायबाट पनि मानिसहरू सडकमा अघिपछिजस्तै स्वतन्त्र रुपमा हिड्ने र भिडभाड गर्न सक्ने अवस्थालाई अनुगमन र नियन्त्रण गर्न आवश्यक छ ।

Back to top