×

वीरगन्ज ५ बैशाख । नक्कली एलसी खोलेर भारतमा ४१ करोड रुपैयाँ लगेको करिब १० वर्ष पुरानो मुद्दामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपाल एसबीआई बैंकका कर्मचारीलाई मुद्दा दायर गरेको छ ।

विभागले सो घटनामा संलग्न रहेको आरोपमा एसबीआई बैंकको तत्कालिन पर्सा जिल्लाको रामपुरक शाखा प्रवन्धक विभा चौधरी र वीरगन्जका शाखा प्रमुख जीवनबाबु सुवेदी सहित ३ जनालाई मुद्दा दायर गरेको हो । विभागले बैशाख २ गते मुद्दा दायर गरेको हो ।

नेपालको बैंकिङ क्षेत्रमा नै भारतीय व्यवसायीले आलु आयात गर्नको लागि नक्कली एलसी खोलेर भारतमा २५ करोड ९४ लाख ७ सय ९७ भारतीय रुपैयाँ ४१ करोड २ सय ७५ रुपैयाँ भारत पुर्याइएको थियो ।

विभागले रेहान ट्रेडर्स नामक नक्कली कम्पनी दर्ता गरी भारत रकम पठाउने भारतीय नागरिक प्रमोदकुमार जयसवाल, नेपाली नागरिक पप्पु ठाकुर र श्रीलाल रौनियारविरुद्ध पनि मुद्दा दायर गरेको छ।

१० वर्ष अगाडिको घटनामा एनआईसी बैंकका वीरगन्जका कर्मचारी समेत मुछिएका थिए । विभागले भने एसबीआईका कर्मचारीलाई मुद्दा दायर गरेपछि घटनामा संलग्न रहेका अरु कर्मचारीलाई विभागिय कारवाही गर्न निर्देशन दिएको छ ।

१० वर्ष अगाडिको ठूलो रकम भारत पुर्याएपनि मुद्दाको अनुसन्धान नै अत्याधिक ढिलो गरेर भएको थियो । १० वर्षपछि विभागले शाखाका कर्मचारीलाई मुद्दा दर्ता गरेको हो ।

विभागले ५ जनाले मिलोमतोमा गैरकानूनी रुपमा २५ करोड ९४ लाख ८० हजार भारतीय रुपैयाँ भारत पुर्याएर सम्पत्ति शुद्धिकरण गरेको आरोप लगाएको छ ।

विशेष अदालतमा दायर भएको मुद्दामा ४१ करोड ५१ लाख रुपैयाँको बिगो कायम राखेर त्यसको दोब्बर ८३ करोड रुपैयाँ जरिवाना र कसुर अनुसार जेल सजाय माग राखिएको छ । सम्पत्ति शुद्धिकरणमा सहयोग पुर्याएमा २ वर्षदेखि १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । घटनामा भारतीय नागरिक जैसवालले आलु र प्याजको कारोबार गर्ने भनेर नक्कली एलसी खोलेका थिए । सोही आधारमा बैंकबाट उनीहरुले पैसा भारत पुर्याउन सफल भएका थिए ।

Back to top