×

वीरगञ्ज, बैशाख ४ – कोरोना संक्रमणको महामारीले मुुख्य नाका वीरगञ्जमा रहेका भन्सार कार्यालयको राजस्व असुलीमा असर पारेको छ।

यहाँ वीरगञ्ज भन्सार कार्यालय (आईसीपी ) र सिर्सिया सुुक्खा बन्दरगहा भन्सार कार्यालय छन्। चैत महिनामा यी दुवै भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब ११ अर्ब १ करोड ४३ लाख कम राजस्व संकलन गर्न सकेका छन्।

चैतमा दुवै भन्सार कार्यालयलाई विभागले १८ अर्ब ४१ करोड १८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। तर चैतमा दुवै भन्सारले ७ अर्ब ३९ करोड ७५ लाख मात्र संकलन गर्न सकेका हुन्।

चैतामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा झण्डै १० अर्ब कम राजस्व संकलन गरेको छ। चैतका लागि भन्सार विभागले ३ अर्ब ३४ करोडको लक्ष्य दिएकोमा २ अर्ब ३ करोड मात्रै संकलन गर्न सकेको सुक्खा बन्दरगाह भन्सारका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए। लकडाउन भएपछि आयात घटेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलालले बताए।

Back to top