×

वीरगञ्ज जेठ ४ - नारायणी कोभिड अस्पतालले दुई सातादेखि सङ्क्रमितलाई खुवाउँदै आएको खाजा र खानाको जति आलोचना भयो, त्योभन्दा बढी अहिले आर्थिक अनियमितताका कुराहरू बाहिर आइरहेका छन्।

नारायणी अस्पतालले चालू आवको लागि महिमा ट्रेडर्स सप्लायर्सलाई हाफ डाइट खानाको लागि टेन्डर दिएको थियो । नारायणी, कोरोना अस्पतालमा परिणत भएपछि अस्पतालका मेसु डा. मदन उपाध्यायले सोही अस्पतालको कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंहलाई खानाको जिम्मा दिएको बताए । यस विषयमा ठेकेदारका प्रतिनिधि महम्मद आलम देवानसँग बुझ्दा टेन्डरमा सहमति भए अनुसार खानामा प्रयोग हुने सबै सामान आफूले खरीद गरेर दिएको दाबी गरे।

खानाको रेखदेखको जिम्मा पाएका सिंहसँग बुझ्दा उनले टेन्डरबाहेक भुजा १ बोरा, चना २ बोरा, चाउचाउ १ कार्टुन, पीठो ४ बोरा, रहरको दाल, सोयाबिन, बिस्कुट, चाउचाउ, बेसार, खुर्सानी, नून, तेल ठेकेदारले दिएको र आफूले भान्साको रजिस्टरमा इन्ट्री गरेको बताए ।

अस्पतालले सङ्क्रमितहरूलाई दिएको खाजा र खाना निम्न गुणस्तरको भएको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि अहिले उक्त कार्यको लागि भएको खर्चको पनि त्यत्तिकै आलोचना भइरहेको छ । समाचार स्रोतका अनुसार अस्पतालले सङ्क्रमितहरूका लागि खाजा र खाना दिन शुरू गरेको चार दिनमैं दुई लाख रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरेको छ ।

जबकि नारायणी अस्पताल हुँदा बिरामीका कुरुवासमेत अस्पतालका चिकित्सक, कर्मचारी, लकडाउनमा समस्यामा परेका समेत गरी दैनिक बिहान र बेलुकी करीब डेढ महीना जति दैनिक ६ सयजनालाई खाना खुवाउँदा वीरगञ्ज – ४ बिर्ताका अध्यक्ष जगतसाह कानूले चार लाख रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरेका थिए ।

अहिले ७० जना सङ्क्रमितलाई चार दिन खाना खुवाउँदा दुई लाख रुपैयाँ खर्च देखाइएपछि आर्थिक अनियमितताको कुरा बाहिर आएको हो । दुई लाख रुपैयाँबाट खरीद गरिएको सामानले १५ दिनसम्म खुवाउन सकिने अस्पतालले जनाएको छ । ठेकेदारले खानामा दाल, भात, रोटी, तरकारी र खाजामा अन्डा, दूध, पाउरोटी, चाउचाउ, बिस्कुट र पछिल्लो समयमा चना र भुजा दिंदै आएको थियो । प्रतीक दैनिकबाट साभार ।

Back to top