×

काठमाडौँ, चैत्र २३ - माध्यमिक शिक्षा परीक्षा (एसईई) एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ ।

त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ । कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ ।

बोर्डका अध्यक्ष चद्रमणी पौडेलका अनुसार एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिनेछ, यस्तो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ । लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्ने उनले बताए ।

यस वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका उनले बताए ।

त्यसैगरी कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको अध्यक्ष पौडेलले जानकारी दिए । उनले भने,‘सुरक्षण प्रेसमा सबै प्रश्नपत्र छापिइसकेका छन् र प्याक भइसक्यो ।, ‘लकडाउने खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्‍याइने छ ।’

कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन् । त्यसनिम्ति १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन् ।

Back to top