×

 

वीरगञ्ज, चैत्र १४ – कोरोना भाइरस अर्थात कोविड-१९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्नेका परिवार मर्कामा पर्न थालेको छ ।

भाइरसको संक्रमणले भन्दा भोकका कारण धेरै परिवार मर्कामा पर्न थालेपछि वीरगञ्जमा सामाजिक संस्थाहरुले दैनिक ज्याला मजदुरी गरि खाने परिवारलाई सहयोग गर्ने अभियान थालेको छ ।

बिहिबार वीरगञ्ज युवा समाजले रिक्सा, ठेला चलाएर गुजारा गर्ने ४० जनालाई खाद्यान्न स्वरुप पाउरोटी सहयोग गरेको छ ।

बसपार्क, पावरहाउस चोक, मुर्ली घण्टाघरलगायतका क्षेत्रमा पुगेर रिक्सा चालक तथा टेला चालकहरुलाई सहयोग गरेको संस्थाका अध्यक्ष कमल चौगाईँले बताउनुभयो । समाजले लकडाउन अवधिभर हरेक दिन भोका व्यक्तिको भोक मेटाउने प्रयास स्वरुप आजबाट सहयोगको अभियान थालेको पनि उहाँले बताउनुभयो ।

दैनिक काम गरि खाने व्यक्तिका परिवार अहिले समस्यामा रहेकाले हरेकले आफ्ना घर अगाडि कोही भोका व्यक्ति भेटे उनीहरुको भोक मेटाउन आवश्यक सहयोग गर्न पनि समाजले आग्रह गरेको छ ।

लकडाउनका बेला घरबाट ननिस्की कुनै एक जना भोको व्यक्तिको भोक मेटाउने प्रयासमा लागे ठूलो सहयोग हुने समाजका सचिव हेमन्त तामाङले बताउनुभयो । आफूहरुले गरेको सहयोग कुनै प्रचारबाजीका लागि नभई भोकाहरुको भोक मेटाउन गरिएको सामाजिक दायित्व अन्तर्गतको काम मात्रै रहेको पनि उहाँले बताउनुभयो ।

Back to top