×

 

वीरगंज ३ चैत्र । बाटो नभएको एैलानी जग्गा वरिपरि कौडीको मोलमा जग्गा खरिद गर्ने र पछि सरोकारवालाहरुलाई अनेक प्रलोभनमा पारी जग्गा हडप्ने विशाल ग्रुपको दाउँ यस पटक पनि फेल हुने भएको छ ।

युनाईटेड लजेष्टिक नेपालका अध्यक्ष अनुज अग्रवालले परवानीपुर सुख्खा बन्दरगाह वाईपासको ६ लेन सडक खण्डमा करिब ८ कठ्ठा बाटो नभएको जग्गा खरिद गरी एैलानी पर्ति जग्गाबाट जबर्जस्ती बाटो लिन मनी मसलको व्यापक दुरुपयोग गरेको गत कार्तिक महिनामै यहाँको मीडियाले भण्डाफोर गरेपछि त्यस बखत उनको त्यो अभियान सफल हुन सकेन ।

अहिले अनुजले आफ्ना हनुमानलाई प्रयोग गरी वीरगंज महानगरपालिकाका उप–प्रमुख शान्ति कार्की जो न्यायिक समितिको अध्यक्ष समेत छिन, उनी र अर्को सदस्य बैजन्ती मालालाई मौद्रिक दबावमा पारी गैर कानूनी तवरमा बाटो लिने प्रयास गरेका छन् । आफ्नो २ वटा प्लट बिचमा पर्ने किता नम्बर ७ को सो गौचरन ऐलानी जग्गा विशाल ग्रुपले विशाल प्रपञ्च रचेर लिन नपाएपछि यसपाली न्यायिक समितिलाई प्रभावमा पारी जग्गा लिने प्रयास गरेको छ ।

आफै धामी आफै झाँक्री शैलीमा न्यायिक समितिमा किर्ते जालसाजी गरेर बाटो लिने प्रयास भएको देखेर न्यायिक समितिका अर्का सदस्य तुफैल अख्तरले निर्णयमा सही गर्न मानेनन् ।

तुफैलले उप–मेयरको पिए बिजय पौडेलले सय पटक भन्दा बढी फोन गरी आफुलाई सही गर्न दबाव दिएको भएतापनि आफु नमानेको बताए । यो सम्पूर्ण प्रक्रियामा उप–मेयरका पिए बिजय पौडेलले बढी चलखेल गरेर आफ्नो व्यक्तिगत लाभको लागि निष्कलंक उप–मेयर शान्ति कार्कीलाई बदनाम गराएको महानगरपालिका र कांग्रेसी जनहरुमा चर्चा चलेको छ । प्रायः मालपानी आउने फाइल पौडेलले अध्ययन गरी उप–मेयरको कान फुकेपछि मात्र सही हुने गरेको देख्ने सुन्नेहरुले बताएका छन् ।

यस सन्दर्भमा मेयर बिजय कुमार सरावगीले आफु रहुन्जेल नगरपालिकामा यस्ता गैर कानूनी काम हुन नदिने फ्रतिक्रिया व्यत्त गर्दै न्यायिक समितिको निर्णय कुनै हालतमा कार्यान्वयन नहुने बताउनु भयो । साभार ankushdaily.com

Back to top