×

काठमाडौं, माघ २९ - चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जनाभन्दा बढी बिरामी भएका छन् । जुगल गाउँपालिका ३ गुम्बा गाउँमा एकैपटक सय जनाभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

मंगलबारदेखि यस्ता लक्षणसहित धेरै व्यक्ति बिरामी भएपछि जुगल गाउापालिका कार्यालयले कोरोनाको आशंका रहेकाले तुरन्त चिकित्सकको विशेष टोली पठाई परीक्षण गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ ।

जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएकोे पत्रमा भनिएको छ ‘विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखापरेका हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।’

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पठाएको छ ।

त्यहाँ बिरामीको संख्या सय नाघिसकेकाले तुरुन्त सहयोग गर्न पत्रमा आग्रह गरिएको छ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनाराय श्रेष्ठले मंगलबार बिहानसम्म १२ जनजति बिरामी भएकामा त्यही साँझसम्म बिरामीको संख्या सय जना नाघिसकेको बताएका छन् । बिरामी संख्या तीव्र गतिमा बढी रहेको पनि उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमार्फत अध्यक्ष श्रेष्ठले रुघाखोकी, ज्वरोले भाइरल रूप लिएको जानकारी दिएका हुन् । एकैपटक धेरै जना बिरामी भएपछि त्यस क्षेत्रमा अहिले कोरोना भाइरसको सन्त्रास फैलिएको छ ।

Back to top