×

 

वीरगञ्ज ११ पुस। नेपाल र भारतले तेस्रो मुलुकबाट आयात भएको कच्चा पदार्थमा ३० प्रतिशत मूल्यअभिवृद्धि गरेर त्यस्ता उत्पादन एकअर्को देशमा निर्यात गर्न सक्छन् । समुद्रपारबाट आयातित तयारी वस्तु निकासी गर्न नपाइने व्यवस्था नेपाल–भारत वाणिज्य सन्धिले गरेको छ । तर, सन्धिको प्रावधानविपरीत अहिले तेस्रो मुलुकबाट भारतमा भित्रिएको कोइला धमाधम नेपालमा आयात भइरहेको छ । सरोकारका निकायले यसको नियन्त्रणमा चासो नदेखाएको व्यवसायीले बताएका छन् ।

तेस्रो मुलुकबाट भारतमा आयात गरिएको कोइला त्यहाँका व्यवसायीले भारतमा उत्पादित कोइलाको नाममा नेपालतर्फ निर्यात गरिरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए । त्यहाँका केही व्यवसायीले स्थानीय उद्योगमा यस्तो कोइला आपूर्ति गरिरहेको महासचिव राजपालको भनाइ छ ।

तेस्रो मुलुकबाट आयातित कोइला नेपाल भित्रिँदा ती देशबाट सोझै कोइला आयात गर्ने व्यवसायी समस्यामा परेका छन् । स्वयम् भारतमा उत्पादन भएर आउने कोइलाको बजारसमेत प्रभावित भएको दाबी व्यवसायीको छ ।

नेपालले कोइला आयातका लागि उपयोगमा ल्याएको समुद्री बन्दरगाहको भौगोलिक अवस्थितिका कारण प्रतिस्पर्धा गर्न नसकिएको व्यवसायीले बताएका छन् । नेपालका लागि तेस्रो मुलुकबाट अहिले भारतको कोलकाता र हल्दिया बन्दरगाह हुँदै कोइला आयात हुन्छ ।

यी बन्दरगाह नहरमा आधारित बन्दरगाह भएकाले ठूलो क्षमताका पानीजहाज सोझै आउन सक्दैनन् । साना पानीजहाजमा ल्याइएको कोइलाको ढुवानी खर्च ठूला जहाजभन्दा बढी हुन्छ ।

भारतीय व्यवसायीले त्यहाँका कान्डला, धाम्रा, पारादीपलगायत ठूला बन्दरगाहमा ल्याएको कोइला भारतमा उत्पादित भनेर नेपालतर्फ पठाउने गरेका छन् । ‘कोलकाता र हल्दियामा २० हजारदेखि २२ हजार मेट्रिकटन क्षमताका पानीजहाज आउँछन् । तर, ठूला बन्दरगाहमा ५० हजारदेखि १ लाख मेट्रिकटन क्षमताका आउने भएकाले ढुवानी खर्च कम हुन्छ,’ कोइला आयातकर्तासमेत रहेका राजपालले भने, ‘यही खर्च अन्तरका कारण कोलकाता र हल्दिया बन्दरगाहमार्फत आयात गर्ने व्यवसायी मारमा परेका छन् ।’

तेस्रो मुलुकबाट ठूला समुद्री बन्दरगाह हुँदै आएको कोइला भारतमा उत्पादित कोइलाभन्दा पनि सस्तो पर्ने व्यवसायीले बताए । यस्तो कोइला तेस्रो मुलुकबाट कोलकाता र हल्दियामार्फत आएकोभन्दा प्रतिमेटिकटन १ हजार रुपैयाँ बढी पर्ने राजपाललको दाबी छ । भारतमा उत्पादित कोइलाको मोल पनि यही हाराहारीमा बढी पर्ने उनले बताए ।

तेस्रो मुलुकबाट भारतमा आएको कोइलाको नेपालतर्फ भइरहेको निकासी रोक्ने पहलका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको थियो । यसरी आयातित कोइलाको तुलनामा भारतमा उत्पादित कोइलासमेत महँगो परेको संघको पत्रमा उल्लेख छ । तर, मन्त्रालयले व्यवसायीको आग्रह सुनुवाइ नै नगरेको संघका अध्यक्ष गोपाल केडियाले गुनासो गरे ।

भारतीय व्यवसायीले चीन, अस्ट्रेलिया, इन्डोनेशिया, अफ्रिकालगायत देशबाट आयात गरेको कोइला भारतमा उत्पादित भन्दै नेपाल पठाएको बताइएको छ । भारत आफै पनि विश्वकै दोस्रो ठूलो कोइला उत्पादक र निर्यातक देश हो । भारतका झारखण्ड, ओडिसा, छत्तीसगढ, पश्चिम बंगाललगायत राज्यमा कोइला बढी उत्पादन हुन्छ ।

नेपालमा वार्षिक १५ लाख मेट्रिकटन कोइला खपत हुने अनुमान व्यवसायीको छ । यो परिमाणमध्ये १० लाख मेट्रिकटन तेस्रो मुलुकबाट आउँछ ।

तेस्रो मुलुकबाट भारतमा ल्याएर भारतीय उत्पत्ति भन्दै २ लाख मेट्रिकटन जति भित्रिने आयातकर्ताको अनुमान छ । सिमेन्ट उत्पादनमा लगानी बढेसँगै कोइलाको माग वर्षेनि बढिरहेको छ । कोइला क्लिंकरको सहायक कच्चा पदार्थको रूपमा प्रयोग गर्छन् । इँटा उद्योगमा पनि कोइला खपत हुन्छ । सभार abhiyandaily.com

Back to top