×

 

वीरगञ्ज, ८ कात्तिक । पर्सामा एक वडाअध्यक्षले विकास निर्माणमा अनियमितता गरेको भन्दै वडासदस्यले कारबाहीको माग गरेका छन्। पर्साको बहुदरमाइ नगरपालिका २ का वडाअध्यक्ष जीतेन्द्र पटेलले विकास निर्माणमा अनियमितता गरेको भन्दै चारजना वडासदस्यले जिल्ला प्रशासन कार्यालयमार्फत कारबाहीको माग गरेका हुन्।

बिनास्टिमेट झण्डै ५० लाखभन्दा बढी रकम बराबरको सडक ढलान गरी अनियमितता गर्न लागेको उनीहरूको आरोप छ। जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको नम्बर ३२० को उजुरीमा वडाअध्यक्षले सीधै अनियमितता गरेको उनीहरूको तर्क छ। 'बिनासम्झौता, बिनाकार्य आदेश, तथा बिनास्टिमेट सडक ढलान गरिएको छ',उजुरीमा उनीहरुले लेखेका छन्, 'सत्यतथ्य बुझी कारबाही होस।' पर्साको बहुदरमाई नगरपालिका-२ का वडाअध्यक्ष पटेलले नगरपालिकाको बिना सम्झौता नै बाटो ढलान गरेको वडासदस्यहरूको आरोप छ।

पिप्रा टोलको गोलघरदेखि दक्षिणमा हरि साह कानुको घरसम्म बाटो ढलान गरिएको उनीहरूले उजुरीमा लेखेका छन्। 'यदि विकास गर्ने सही मनसाय भएको भए स्टिमेट गरेर ढलान हुन्थ्यो,' उनीहरूको तर्क छ 'तर, यहाँ विकासको नाममा कमाउने मनसाय देखियो।' बिनास्टीमेट बाटो ढलान गरिसकेपछि वडाअध्यक्ष पटेलले त्यो पैसा निकाल्न नदिनको लागि आफूहरू उजुरी गरेको वडासदस्यहरूमध्ये फुलेना साह तेलीको भनाइ छ।

उनका अनुसार वडाअध्यक्षको मेयरसँग निकट सम्बन्ध छ, त्यही भएर उनी केही सम्झौता नगरी मिलोमतोमा काम गरेका हुन्। नत्रभने बिनास्टिमेट कसरी सडक ढलान हुन्छ त? उनको प्रश्न छ। 'सडक ढलान गर्दा कति ढलान गर्ने, कति मसाला राख्ने लगायतको स्टिमेट गरिन्छ,' उनले भने, 'तर यो सब केही नभइकन बाटो ढलान गरियो।

बिना मिलोमतोमा कसैले त्यतिकै बाटोमा पैसा फ्याल्दैन।' त्यसैले आर्थिक अनियमितता हुन नदिनको लागि यस्तो गरिएको उनीले बताए। नगरपालिकाको समेत मिलोमतोमै यो अनियमितता गर्न लागिएको उनीहरूका दाबी छ। उजुरी गर्नेहरूमा वडासदस्यहरू फुलेना साह, रम्भा देवी, उमरावती देवी पासवान र अक्षय यादव रहेका छन्। उनीहरूले भदौ २७ मा संयुक्तरूपमा हस्ताक्षर गर्दै उजुरी गरेका हुन्।

Back to top