×

वीरगन्ज १८ भदौ । गत बर्ष निर्माणाधीन हुलाकी सडक खण्ड अन्तरगत ठोरी ३ को नयाँवस्तीमा गत वर्ष निर्माण भैरहेको कल्भर्टको गुणस्तरीयतालाई लिएर स्थानीय विरोधमा उत्रिएपछि सो कल्भर्ट भत्काएर नयाँ निर्माण गरियो ।

त्यतिबेला कल्भर्ट निर्माणका लागी उठाइएको जग नै चर्किएपछी स्थानीयले विरोध गरेका थिए । पछि हुलाकी सडक आयोजनाले नै ठेकेदारलाई कल्भर्ट भत्काउन र नयाँ निर्माण गर्न निर्देशन दिएको स्थानीय बताउँछन ।

यसवर्ष गत श्रावण ८ गते वडा ३ को नयाँवस्तीमा निर्माण सम्पन्न भएर सन्चालनमा आएको अर्को कल्भर्टमा पानीले क्षति पुर्यायो । कल्भर्ट एकतर्फी रुपमा भासिएको छ भने कल्भर्टका लागी जमीनको तल्लो सतहदेखि उठाइएको पर्खाल मर्मत नै हुन नसक्ने गरि चर्किएको छ । त्यस्तै कल्भर्टको छेउमा बनाइएको एप्रोच समेत चर्किएको छ । सो कल्भर्टबाट कुनै पनि चार पाङ्ग्रे सवारी आवतजावत गर्न सक्दैनन् ।

गाउँपालिकामा निर्माण भएका अधिकांश कल्भर्ट निर्माणको जिम्मा सडक निर्माणको ठेक्का सकारेको कालिका बानियाँ जेभीले स्थानीय युवाहरूलाई दिएको छ ।

निर्माण सामग्री ठेकेदार आफैले उपलब्ध गराउने मजदुर व्यवस्थापनको जिम्मा भने स्थानीय युवाहरुलाई दिने गरेको थिङ्ले बताए । यसरी केहि स्थानीयलाई साथमा लिएर हुलाकी सडक जस्तो राष्ट्रिय गौरवको आयोजनामा लापरबाही गर्ने गरेको ठेकेदारमाथि स्थानीयको आरोप छ ।

यसरी सडक निर्माण भएपछि पानीको सहज निकासको लागी बनाइएको कल्भर्ट पानीकै कारण सडक भन्दा पहिले भत्किएपछि कल्भर्टको गुणस्तरीयतालाई लिएर स्थानीयले शङ्का व्यक्त गर्न थालेका छन् ।

कल्भर्ट निर्माण गर्दा कमसल ढङ्गले निर्माण गरिएको स्थानीयको आरोप छ । गाउँका केहि स्थानीयलाई साथमा लिएर ठेकेदारले कल्भर्ट निर्माणमा लापरबाही गरेको वडा ३ का राष्ट्रिय जनाता पार्टीका संयोजक समेत रहेका स्थानीय ज्ञान बहादुर थिङ्ले बताए ।

उनले कल्भर्ट निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको आरोप लगाउदै नाफा मात्र हेरेको बताए । सडक पिच भएपछि पानीको सहज निकासको लागी बनाइएको कल्भर्ट पिच हुनुभन्दा पहिल्यै भत्कनु ठेकेदारको बदामासी भएको उनले टिप्पणी गरे ।

उता ठेकेदार कम्पनीले भने निर्माणमा कुनै लापरबाही नभएको बतायो।कम्पनीका फिल्ड इन्चार्ज उद्दव न्यौपानेले अहिले भत्किएको कल्भर्टको इस्टिमेटमा २ मिटरमात्र फराकिलो भएकाले त्यसै अनुसार निर्माण गरिएको र सिकारीवास खोला नै प्रवेश गरेकाले कल्भर्ट भत्किएको दाबी गरे ।

उनले कल्भर्ट २ मिटर मात्र फराकिलो हुँदा फेरि भत्कने जोखिम रहेकाले दोब्बर फराकिलो बनाउनका लागी हुलाकी सडक आयोजनासँग अनुरोध गरिएकाले पत्र पाउनासाथ फेरि निर्माण थालिने बताए ।

Back to top