×

वीरगन्ज १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत लेखापाल जयसिंह थारुलाई २५ हजार घुस रकमसहित अख्तियार टोलीले पक्राउ गरेको जनाएको हो ।

कलैयास्थित होटल भान्सा घरमा उपभोक्ता समितिसँग घुस बापतको २५ हजार लिई रहेको अवस्थामा डिएसपी केशव भट्टराईको नेतृत्वमा आएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

तत्कालिन बाराको फेटा गाउँपालिकामा लेखापालमा कार्यरत रहँदा थारुले आर्थिक वर्ष २०७५ र ०७६ को योजनाको कमिशन उपभोक्ता समितिसँग लिने बार्गे्निङ्ग गरेका थिए ।

थारु गाउँपालिकाबाट ६ दिन अगाडी मात्र जिल्ला प्रशासन कार्यालय बारामा सरुवा भएर लेखापालको रुपमा कार्यभार सम्भालेका थिए । सोमबार दिउँसो फेटा गाउँपालिकाको आर्थिक वर्षको योजनाको कमिशनको रकम लिन भान्सा घर पुगेका थिए ।

पक्राउ परेको थारुलाई आवश्यक अनुसन्धानको लागि अख्तियारले आफ्नो नियन्त्रणमा लिई हेटौँडा लग्ने तयारी भइरहेको डिएसपी भट्टराईले जानकारी दिए ।

Back to top