×

वीरगञ्ज ३ भदौ । भारतिय ब्रान्डका चामल वीरगन्जमा खुलेया बिक्री भईरहेको छ । भारतिय ब्रान्डका चामल तस्करीको माध्यमबाट वीरगन्ज मगाई खुलेया रुपमा वीरगन्ज रानीघाटका ब्यपारी बिक्री गरेको देखिएको छ ।

बारा र पर्सामा करीब २ सय सानाठूला चामल उद्योग छन् । मुख्य नाका वीरगञ्ज–पोखरिया र पथलैया खण्डमा दर्जनभन्दा बढी ठूलो क्षमताका यस्ता उद्योग सञ्चालित छन् । तर, वीरगञ्ज र आसपासको बजारमा स्वदेशी ब्रान्डका चामल देखिँदैनन् । स्वदेशी बजारमा भारतीय चामलले कब्जा जमाएको छ ।

यहाँका खाद्यान्न पसल र भण्डारमा भारतीय ब्रान्डका चामल किनेबेच हुन्छ । उत्पादनको केन्द्र भएर पनि स्थानीय बजारमा नेपाली ब्रान्डका चामलको कारोबार किन हुँदैन ? विक्रेताको एउटै उत्तर हुन्छ– भारतीय चामल तस्करीको माध्यमबाट आएको हुनाले सस्तो छ ।

सीमावर्ती भारतीय बजार रक्सौलमा नेपालको बजारलाई लक्षित गरी पाँच ठूला चामल उद्योग खुलेका छन् । तीमध्ये रिपुराज उद्योगको सीमावर्ती नेपाली बजारमा बढी वर्चस्व छ । ७० प्रतिशतसम्म सरकारी अनुदानमा चलेका यस्ता उद्योगको उत्पादन लागत न्यून छ । ती उद्योगको सस्तो चामल अनधिकृत रूपमा आयात हुँदा स्वदेशी चामल विस्थापित भएको स्वदेशी उद्योगीहरू बताउँछन् ।

नेपाली उत्पादकले सीमाक्षेत्रको बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि आफ्नो उत्पादनलाई काठमाडौं, पोखरा, नारायणगढ, हेटौंडा लगायत बजारमा केन्द्रित गरेको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्र प्रसाद कलवारले बताए । तर, भन्सार छलेर भित्रिएको भारतीय चामलले ती बजारलाई समेत छोडेको छैन ।

वीरगञ्जको इनर्वा, सिरिसिया, भिस्वा, जानकीटोला लगायत सीमाक्षेत्रबाट दिनहुँ भन्सार छलेर हजारौं बोरा चामल वीरगन्जको रानीघाट भित्रिन्छ । भारततर्फ सीमा सुरक्षा बल र नेपालतर्फ प्रहरीको पहरा छ । तर, चामलको अवैध आयातमा कुनै रोकटोक छैन ।

सिमानामा खटिएका प्रहरीलाई मिलाएर हुने यस्तो अवैध व्यापारबाट ढुवानीकर्ताले प्रतिबोरा ५० रुपैयाँ कमाउँछन् । अवैध आयातकर्ताहरूले एउटा साइकलमा दुईदेखि तीन बोराका दरले ओसार्न लगाउँछन् । एउटा साइकल चालकले दिनमा पाँचपटक मात्र सीमा वारपार गर्दा पनि १० र १५ बोरा चामल भित्र्याउँछ ।

नेपालतर्फ अवैध निकासीकै लागि भारतीय सीमावर्ती क्षेत्रमा घरघरमै जस्तो चामलका गोदाम खोलिएका छन् । त्यहाँ पानपसलमा समेत चामलको व्यापार भइरहेको सहजै देख्न सकिन्छ । ‘साइकलमा ओसारेर वीरगञ्जको आदर्शनगर र रानीघाटमा ल्याउँछन् । यसरी संकलन गरिएको चामल रानीघाटका व्यापारीले दैनिकजसो ट्रकमा लोड गरेर अन्यत्र पठाउँछन,’ कलवारले यात्रा डेलीलाई बताए ।

सरकारले खाद्यान्नमा आत्मनिर्भरतालाई आफ्नो उद्देश्य बनाएको छ । तर, यो उद्देश्य नारामा मात्र सीमित भएको बुझाइ उद्यमीहरूको छ । ‘सरकारी नीतिले आयातलाई बढावा त दिएको छ नै, सीमाक्षेत्रबाट हुने अवैध आयातले उद्योगहरू धमाधम बन्द हुन थालेका छन,’ मोहित एग्रो इन्डस्ट्रिजका प्रबन्ध निर्देशक समेत रहेका अध्यक्ष गुप्ताले भने, ‘सरकारी नीतिकै कारण स्वदेशी चामल उद्योग धमाधम बन्द हुँदै छन् । २ हजारको हाराहारीमा रहेका उद्योग अहिले १५ प्रतिशत मात्र चलिरहेका छन् ।’

Back to top