×

वीरगन्ज ५ जेठ । मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो ।

महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दिन विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । महासंघको जेठ ६ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ ।यस्तो छ आन्दाेलनकाे कार्यक्रम :

जेठ ६ र ७ गते – महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श ।

जेठ ८ गते – संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने ।

जेठ ९ देखि १२ गतेसम्म – सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने ।

जेठ १३ र १४ गते – सांसदहरुसँग भेट गरी छलफल गर्ने ।

जेठ १६ र १७ गते – प्रेस स्वतन्त्रता सेनानीको ऐक्यवद्धता ।

जेठ १८ देखि २० गतेसम्म – महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने ।

जेठ २१ र २२ गते – महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।

जेठ २३ र २४ गते – केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।

जेठ २५ गते – अपरान्ह ३ः०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने । काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने ।

(नोट : मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने ।)

Back to top