×

वीरगंज, माघ २१ - वीरगंज महानागर्पालिकाद्वारा शोम्बार वीरगंजस्थित नगरसभागृहमा आयोजित चौथो नगरसभा एक सय भन्दा बढि जना वडा सदस्यहरुले बहिष्कार गरेका छन् । वडा सदस्यहरुले सभा बहिष्कार गरे पछि महानगरपालिका कार्यालयले अर्को सुचना प्रकाशित नगरसम्म सभा स्थगित गरिएको छ ।

महानगरपालिका कार्यालयले वृद्धि गरेको एकीकृत सम्पत्ति कर खारेज गरी आर्थिक वर्ष २०७३/७४ साल माघ १० गतेको दोस्रो नगरसभाले कर सम्बन्धमा गरेको निर्णय नै यथावत राख्नुपर्ने माग गर्दै १ सय २६ जना वडा सदस्यहरुले नगरसभा बहिष्कार गरेका हुन् ।

वीरगंजका मेयर विजयकुमार सरावगी र कर्मचारीहरुले आफ्नो माग सुनुवाई नगरेको भन्दा वडा सदस्यहरले चौथो नगरसभा बहिष्कार गरेको वडा अध्यक्ष हकहित मञ्चका संयोजक तुफेल अख्तरले बताए ।

अख्तरले महानगरपालिका कार्यालयले वडा सदस्यहरुलाई अपहेलित गरेको आरोप लगाए । ‘नगरसभामा कार्यपालिका बोर्ड बैठकले पेश गर्ने एजेण्डाका बारेमा पनि हामीलाई कुनै जानकारी गराइएको थिएन । ती एजेण्डा अध्ययनका लागि पहिले हामीलाई दिनुस् हामी अध्ययन गर्छौँ भन्यौँ,’ संयोजक अख्तरले भने , ‘तर मेयर विजय सरावगीले पहिले माइन्युट पुस्तिकामा हस्ताक्षर गर्नुस् अनि मात्र एजेण्डाको प्रतिवेदन दिन्छौँ भन्दै हामीलाई अपहेलित गरे ।’

‘जनताको ढाड सेक्ने गरी बृद्धि गरिएको कर हामीलाई मान्य छैन, त्यो खारेज गरेर पहिलेकै कर लागु गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने । नगरसभा बहिष्कार गरेर निस्किएका मञ्चकाका महासचिव सुरज कुर्मीले भने, ‘तर हाम्रो माग मेयर साबले सुन्नै चाहेनन्, त्यसैले मङ्गलबार फेरि संघर्ष समितिको बैठक बसेर अब नगरवासीलाई नै साथमा लिएर महानगर विरुद्ध सशक्त आन्दोलन थाल्छौँ ।'

Back to top