×

संजय कुमार सहनी रौतहट २७ पुस । उखुको नयाँ मूल्य निर्धारण भएपछि रौतहट, वारा, सर्लाही महोत्तरीका चिनी उद्योगहरु चाँडै संचालन हुने भएपछि किसानहरुमा छाएको चिन्ता समाप्त भएको छ । चिनी उत्पादक संघ र उखु उत्पादक महासंघका पदाधिकारीहरु संगै सरकारका प्रतिनिधिहरु विच महोत्तरीको वर्दीवासमा सम्पन्न बैठकबाट उखुको नयाँ मूल्य निर्धारण भएपछि आउदो साता भित्र तिनै जिल्लामा रहेका चिनी कारखानाहरु संचालनमा आउने भएपछि किसानहरुमा छाएको चिन्ता समाप्त भएको हो ।

दुई दिन अघि महोत्तरीको बर्दिबासमा भएको वार्तामा चालू आर्थिक बर्ष २०७५÷०७६ का लागि प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा उखुको मूल्य निर्धारण गरिएको छ । उक्त मूल्यमा उखु क्रसिङ गर्ने चिनी उत्पादक संघले सहमती जनाएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिए ।

चिनी उत्पादक संघले उखुको मूल्य निर्धारण भएपछि चिनीको पनि नयाँ मूल्य निर्धारण हुनुपर्ने अडान राख्दा उद्योग मन्त्रालयले चाँडै चिनीको नयाँ मूल्य निर्धारण गरिने आश्वासन दिदा वार्ता सकारात्मक भएको अध्यक्ष यादवले भने । उखुको मूल्य बढि भएको तर चिनीको मूल्य कम हुँदा उत्पादकलाई घाटा पर्ने भएको वारम्वार कुरा चिनी उत्पादक व्यवसायीले उठाएपछि चिनीको मूल्य समायोजन हुने सरकारी प्रतिनिधिले आश्वासन दिएका थिए ।

सहमती अनुसार चिनी कारखानाको गोदाममा गत बर्षका चिनीहरु थन्किएकालाई समेत नेपाल सरकारलाई खरिद गर्न आग्रह गर्न सहमति भएको अध्यक्ष यादवले बताए । सरकारले निर्धारण गरेको मूल्यमा उद्योगपतिले उद्योग संचालन गर्दा निकै घाटा लाग्ने भनेर असहमति जनाउँदै आएको कारण चिनी कारखाना संचालनमा ढिलाई हुदै आएका थिए । समयमा उद्योग संचालन नहुँदा किसानको उखु खेतमै सुक्न थाल्दा किसानहरु चिन्तीत हुन थालेको थियो । बर्ष भरी मेहनेत गरेर हुँकाएका उखु खेतमै सुक्न थालेको तथा हतार भएका किसानहरु कम मूल्यमा खाडसारीमा वेच्न बाध्य भएका किसानहरुलाई मूल्य निर्धारण भएपछि खुशी छाएको रौतहटका किसान राजेश चौधरीले बताए ।

‘ढिलै भए पनि चिनी उद्योगीले उद्योग सञ्चालन गर्न सहमती जनाएको छ, अव उखु चाँडै मिलमा जाने भएपछि किसानहरुमा खुशी छाएको बताउदै चौधरीले यस वर्ष समयमा उद्योग नचल्दा हाम्रो करिव तिस प्रतिशतभन्दा बढी उखु सुकेर खेर गइसकेको बताए ।’ पुस महिना सकिन लाग्दा समेत उद्योग सञ्चालनमा नआउँदा उखु सुक्न लागेकाले किसान अतालिन थालेका किसानहरुलाई अलि राहत पुगेको उनले भने ।

विवाद टुंगिएर मूल्य निर्धारण भएपछि रौतहटको श्रीराम सुगर मिल्स, सर्लाहीको इन्दुशंकर, बाराको रिलायन्स सुगर एण्ड केमिकल र महोत्तरीको एभरेष्ट आउदो आईतवार सोमवारका दिन देखि संचालनमा आउने मिल्स प्रबनध पक्षले जनाएको छ ।

Back to top