×

वीरगन्ज १४ पुस । वीरगंजमा निर्माण भइरहेको पर्यटकीय स्तरको होटल दियालो निर्माणको अन्तिम चरणमा पुगेको छ ।

८० करोड लगानीमा निर्माण भइरहेको यो होटल दुई महिनाभित्रै संचालनमा आउनेछ। होटल संचालक अनिल रुंगटाले होटल निर्माणको काम ९५ प्रतिशत सकिएको जानकारी दिए । नौ तल्ला रहेको यो होटलमा ६२ वटा कोठा हुनेछ ।

तीन कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको होटलमा दुई वटा ब्यांकेट हल हुनेछ । होटलमा स्वीमिङ पुल,रेष्टुरेन्ट, जीम हाउस, स्पा र मिनि क्यासिनो समेत हुनेछ। होटलमा कन्फ्रेन्स हल समेत छ। होटलमा रहेको ६२ वटा कोठामध्ये ४ वटा स्वीट र ५८ वटा डिलक्स कोठा हुनेछ । होटलको व्यवस्थापन मुम्बर्ईमा हस्पिटालिटीमा काम गरिरहेको कम्पनी ल्याउने उनले बताए ।

यसै गरि वीरगंज–पथलैया औद्योगिक करिडरमा ३५ करोड रुपैयाँ लगानीमा नयाँ औषधी उद्योग एक महिनाभित्रै संचालनमा आउने भएको छ ।

वीरगंज महानगरको वडा नं ३२ चोर्नी्स्थित प्राइम फर्मास्युटिकल्स एक महिनाभित्र उत्पादन सुरु हुने उद्योगका प्रबन्ध निर्देशक बृजकिशोर चौबेले जानकारी गराए ।यो उद्योग २९ कठ्ठा क्षेत्रफलमा स्थापना भएको छ । १० जना व्यवसायीको लगानीमा उद्योग स्थापना भएको हो ।

उद्योगले क्याप्सुल, सिरफ, मलम, लोशनलगायतको औषधी उत्पादन गर्ने जनाएको छ । ५० जनाले रोजगारी पाउने उद्योगको १० करोड चुक्ता पूँजी छ।बैंकबाट २५ करोड ऋण लिएर उद्योग स्थापना भएको प्रबन्ध निर्देशक चौबेको भनाई छ । चिनियाँ लगानी भित्र्याउने गरि यो उद्योग स्थापना गरिएको हो ।

चौबेले चिनियाँ कम्पनी भित्र्याउने गरि छलफल अघि बढेको बताए। योसँगै औद्योगिक करिडमा १४ वटा औषधी उद्योग संचालनमा छन्। वीरगंज कोरीडोरमा जिडी फर्मा, नेपाल फर्मा, नेशनल फर्मा, क्वेस्ट, एपेक्स, आर्या, डेनियम, मैग्नस, मारुती, जेनेटिका, भास्कर हर्बल, सुप्रिम फर्मा संचालनमा छन् ।

Back to top