×

वीरगन्ज २१ कार्तीक । केही वर्ष यताका तिहारमा माटाको दियोको भन्दा विद्युतीय बत्ती बाल्ने प्रचलन निक्कै बढेको छ । प्रयोग बढेसँगै भारत र तेस्रो मुलुकबाट विद्युतीय बत्तीको आयातमा पनि भारी मात्रामा बढोत्तरी भएको छ ।

यसवर्षको तिहारमा भारत र तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै गत साल भन्दा झन्डै तेब्बर भन्दा बढी मूल्यको विद्युतीय भिलीमीली बिजुली बत्ती आयात भएको छ ।

वीरगन्जमा रहेका वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह दुवै नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १५ सम्मको अवधिमा ४४ करोड ७१ लाख एक हजार ६ सय रुपैयाँ मूल्यको विद्युतीय बत्ती आयात भएको हो ।

पोहोर सालको तिहारको त्यही अवधिमा दुवै नाकाबाट १६ करोड ५६ लाख ७८ हजार तीन सय ७९ रुपैयाँको मात्र विद्युतीय बत्ती आयात भएको थियो । पोहोर सालको तिहारको भन्दा यसपालिको तिहारमा वीरगन्ज नाका हुँदै २८ करोड १४ लाख २३ हजार तीन सय १६ रुपैयाँ बढीको विद्युतीय बत्ती आयात भएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १५ सम्मको अवधिमा वीरगन्ज भन्सारबाट मात्रै ३१ करोड २७ लाख चार हजार रुपैयाँको २५ लाख ९९ हजार ३२ थान झिलिमिली बत्ती आयात भएको छ ।

सिर्सिया सुख्खा बन्दरगाहबाट भने १३ करोड ४३ लाख ९७ हजार रुपैयाँको २० लाख १८ हजार एक सय ९१ थान बिजुलीका झिलिमिली बत्ती आयात भएको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख सूर्य सेडाँइले जानकारी दिए ।

दीपावलीमा झिलिमिली रङ्गीबिरङ्गी बत्ती लगायत अन्य विद्युतीय बत्तीहरू बर्से्नि भारत, चीन, अमेरिका, थाइल्यान्ड, जर्मनीलगायत देशबाट आयात हुन्थ्यो । तर, पछिल्ला वर्ष यता तिहारमा प्रयोग गरिने अधिकांश विद्युतीय बत्ती भारत र चीनबाट नेपाल भित्रिने गरेका छन् ।

सिर्सिया सुख्खा बन्दरगाहबाट यस वर्षको तिहारमा भित्रिएका सबै विद्युतीय बत्तीहरू चीनबाट सामुद्रिक मार्ग प्रयोग गरेर भारत हुँदै नेपाल आयात भएको भन्सार प्रमुख सेडाँइले जानकारी दिए । यस्तै वीरगन्ज भन्सार हुँदै भित्रिने विद्युतीय बत्तीमध्ये अधिकांश चीनमै उत्पादित भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए ।

भन्सार विभागको तथ्याङक अनुसार नेपाली बजारमा चीनमा उत्पादित विद्युतीय बत्तीले ७७ प्रतिशत भन्दा बढी हिस्सा अगोटेको छ भने भारतीय उत्पादनको हिस्सा १७ प्रतिशतको हाराहारीमा मात्र छ ।

भारत र चीनबाट वीरगन्ज नाका हुँदै भित्रिने विद्युतीय झिलिमिली बत्तीहरू वीरगन्जसँगै हेटौडा, नारायणगढ, पोखरा, काठमाडौँ लगायतका प्रमुख सहरका साथै विभिन्न जिल्लाका बजारमा आपूर्ति हुने गरेको छ ।

बत्तीबाट १२ करोड ४७ लाख राजश्व

तिहारमा वीरगन्ज नाका हुँदै साढे तीन महिनाको अवधिमा भित्रिएका विद्युतीय झिलिमिली बत्तीबाट १२ करोड ४७ लाख ९५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको साउन देखि कात्तिक १५ सम्म साढे तीन महिनाको अवधिमा भित्रिएका विद्युतीय बत्तीबाट वीरगन्ज भन्सार कार्यालयले सात करोड ३७ लाख ५८ हजार तीन सय ४० रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले भने त्यही अवधिमा विद्युतीय बत्तीको आयातबाट पाँच करोड १० लाख ३६ हजार आठ सय ३६ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षको त्यही अवधिमा आयात भएका विद्युतीय बत्तीबाट दुवै भन्सार कार्यालयले चालु आर्थिक वर्षको भन्दा नौ करोड २० लाख ३५ हजार रुपैयाँ कम अर्थात् तीन करोड २७ लाख ६० हजार नौ रुपैयाँ मात्र राजश्व सङ्कलन गरेको थियो ।

Back to top