×

वीरगंज २६ असोज । वीरगंज उद्योग वाणिज्य संघले विगतझै यस वर्षको दशैं अवधिमा सस्तो बजार पसल शुरु गरेको छ । बाणिज्य संघको विर्ता्स्थित भवनमा सञ्चालनमा आएको पसलमा विभिन्न समान बेच्ने स्टल राखिएको छ ।

पसलमा बजारको भाउभन्दा २० प्रतिशत सस्तोमा दैनिक उपभोग्य समान बिक्री वितरण भइरहेको वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक बैधले बताए ।

सस्तो बजारमा मरिच ५ सय, जिरा ४ सय, धनिया १३०, खुर्सानी २ सय, सुजी र पिठो ४५ रुपैयाँ प्रति किलोका दरमा बिक्री भइरहको छ । त्यसैगरी राजहंश र निलकमलको तोरीको तेल १६०, सनफलावर १४०, सोयाविन १३० रुपैयाँ प्रति लिटरका दरले बिक्री भइरहेको छ ।

डाबर नेपालको जुस र नारायणी अगरबत्ति प्रालिको विभिन्न १२ ब्रान्डको अगरबत्ति बिक्री भइरहेको छ । आस्मी वियुटी सैलुनले पनि कस्मेटिक आइटमको समान र कपडा राखेको छ भने वुमेन्स स्किल सेन्टर वीरगंजले हातले बनाएको कपडा, ज्वेलरी, बुटिक, मिथिलाञ्चलको पेन्टिगलगायत समान बिक्री गरिरहेको स्किल सेन्टरकी अध्यक्ष चन्चला दासले बताइन् ।

सस्तो बजारमा साल्ट ट्रेडिङले नुन १८ रुपैयाँ बिक्री गरिरहेको छ । चिनीको मूल्य तोक्न नसक्दा स्टल राखिएको छैन ।

Back to top