×

वीरगञ्ज २६ भदौं । बोट विरुवा र पर्यावरण संरक्षणका लागि वीरगञ्ज महानगरपालिकाको ध्यानाकर्षण गराईएको छ प्रकृति सेवा प्रतिष्ठानले वीरगञ्ज महानगरपालिकामा ज्ञापन पत्र बुझाउँदै बोट विरुवा र पर्यवरण संरक्षणमा ध्यान दिन सुझाव दिएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष जसपाल सिंहले वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्म कुमार भुषाललाई ज्ञापनपत्र बुझाएका हुन् । प्रतिष्ठानले हरियो, सफा र स्वस्थ वीरगञ्ज, प्लाष्टिक झोला र प्रदुषण मुक्त वीरगञ्ज भन्ने नारा लिएर पर्यावरण संरक्षणका लागि काम गर्दै आएको छ । ज्ञापन पत्रमा वीरगञ्ज महानगरको मुख्य सडकलाई फराकिलो गर्न बाँकी छँदैको अवस्थामा सो क्षेत्रमा रुख रोपेर ‘मार्नका लागि’ रुख रोपिएको जस्तै भएको उल्लेख गरिएको छ । ‘बोट विरुवा अनावश्यक रुपमा काट्नु, मार्नु र मर्न दिनु ठूलो वातावरणीय अपराध हो । ’ ज्ञापनपत्रमा उल्लेख छ । दुई चारदिनदेखि मुख्य सडकमा विरुवा रोप्ने कार्य भईरहेकोले भत्काउने सडकमा विरुवा नरोप्न आग्रह गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष सिंहले बताए । ‘कलिलो रुख विरुवाको हत्या पनि भ्रुण हत्या सरह हो । फराकिलो पार्दा भत्काउनुपर्ने सडकमा रुख रोपिएको छ ।’ उनले भने ‘ सडक फराकिलो गर्दा काट्नुपर्ने अवस्था आउँछ । सडक फराकिलो भएपछि रोप्नुपर्छ ।’ अहिले रोप्दा श्रम, समय र विरुवा सबै खेर जाने उनको भनाई छ । सडक फराकिलो गर्ने भनी सरकारको निर्देशन भएपनि महानगरपालिकाले सडकमा मार्नका लागि बोट विरुवा रोप्ने अनुमति महानगरपालिकाले किन र कसरी दियो, यसमा के षडयन्त्र छ ? यस्तो कार्यलाई तुरुन्त रोकेर बोट विरुवा हत्या हुनबाट रोक्नुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ । विगतमा पावरहाउसदेखि विर्ताचोकसम्म मुख्य सडकको दायाँ बायाँ रुख विरुवा रोप्ने सहमति भएको भएनि सडक फराकिलो बनाउने निर्देशन कार्यान्वयन नभएका कारण काम अघि बढाउन नसकेको प्रतिष्ठानले जनाएको छ ।पूर्ण रुपमा फराकिलो गर्न बाँकी रहेको मुर्ली चोकदेखि भारतीय महावाणिज्य दुतावाससम्म रोटरी क्लब र रोट्याक्ट क्लबले भदौ १६ गते पारिजात, निम, अमला जातका १ सय ५० वटा विरुवा रोपेको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुषालकै सहभागीतामा कार्यक्रम भएको थियो । प्रमुख प्रशासकीय अधिकृत डा भुषालले भने सडक फराकिलो गर्दा विरुवालाई पनि सार्न सकिने भन्ने कुरा आएकोले बोट विरुवा रोपिएको स्पष्ट पारेका छन् । त्रिभुवन राजमार्ग अन्र्तगत पर्ने वीरगञ्जको मुख्य सडक २५/२५ मिटर फराकिलो गर्नेबारे लामो समयदेखि चर्चा चलेको भएपनि कार्यान्वयन भने भएको छैन । वीरगञ्ज महानगरपालिकाले भने १५/१५ मिटर मात्रै चौडा गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । महानगरपालिका मेयर विजय सरावगीलेले लाखौको बजेट हचुवाको भरमा वृक्षारोपणको नाममा हिनामिना गरेको नगरवासीले आरोप लगाएका छन् । वीरगंजको घण्टाघर देखि नयाँ बस पार्क जाने लिंक रोड लगायतका नगर क्षेत्रका दर्जनौ सडकहरु जिर्ण छन । बस पार्कमा आएका पर्यटक तथा यात्रुहरु वीरगंजमा उत्रिने वितिकै त्यहाको जिर्ण सडक, खाडलै खाडल तथा धुलो र हिलोले छोपिएको सडकले समग्र वीरगंजको बदनाम गराएको छ । यस तर्फ महानगरपालिका मेयर विजय सरावगीको ध्यान नजाने तर भोली भत्काउने सडकमा वृक्षारोपण गर्नु मेयर विजय सरावगीको कति दुरदर्शिता हो बुझि नसक्नु भएको छ । यसअघि सिंह नेतृत्वको टोली प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याललाई पनि ज्ञापन पत्र बुझाउन गएको भएपनि उनले ज्ञापनपत्र बुझ्न अस्विकार गरेका छन् । उनले समय नलिई आएको र मुख्य सडकको किनारमा आफूले विरुवा रोप्ने आदेश नदिएको भन्दै ज्ञापनपत्र बुझ्न इन्कार गरेका थिए ।

Back to top