×

वीरगंज, १७ भाद्रौं - मुक्तिनाथ बिकास बैंकको प्रायोजन र बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुती तथा बिन्ध्यबासिनी फाउण्डेशनको आयोजनामा हुन गईरहेको “बिन्ध्यबासिनी संगीत साँझ २०७५” र “नवौं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७५” बाट प्रदेश नं. २ को तर्फबाट पर्सा जिल्लामा विगतका वर्षहरु देखि सांगीतिक र कला क्षेत्रमा सक्रिय पत्रकारिता गर्दै आएका युवा पत्रकार शिवम साह सम्मानित हुने भएका छन् ।

वीरगंज स्थित वीरगंज टेलिभिजन, रेडियो तराई र केहि स्थानीय पत्रपत्रिकामा काम गर्दै आफ्नो पत्रकारिताको यात्रा सुरु गरेका साह अहिले पर्साबाट संचालन हुने नारायणी एफएममा कार्यरत रहेका छन् । साह वीरगंजमा एक बहुचर्चित स्टेज कार्यक्रम संचालक समेत हुन्, उनले राष्ट्रिय स्तरका कार्यक्रम समेत संचालन गरिसकेका छन् ।

काठमाडौँमा शनिबार फाउण्डेशनद्वारा आयोजित एक पत्रकार सम्मेलनमा नेपालका ७ वटै प्रदेशबाट सक्रिय पत्रकारिकतामा लागेर कला क्षेत्रमा विगतका दिनहरु देखि सहयोग पुर्याउदै आएका व्यक्तिहरुलाई सम्मान गरिने जानकारी गरिएको थियो । 'यस बर्षबाट देश संघियताको ढाँचामा अगाडी बढिरहेको सन्दर्भमा, बिन्ध्यबासिनी पत्रकारिता पुरस्कार पनि हरेक प्रदेशबाट एक जना छनौट गरि ७ प्रदेशबाट ७ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय पनि भएको छ,' बिन्ध्यबासिनी संगीत साँझ २०७५ का सदस्यले भने ।

समानित हुनेमा प्रदेश नं. १ बाट सपनी राई, प्रदेश नं. २ बाट शिवम साह, प्रदेश नं. २ बाट हरि बल्लभ नेपाल, प्रदेश नं. ४ बाट प्रकाश पौडेल, प्रदेश नं. ५ बाट अनिता खत्री, प्रदेश नं. ६ बाट केशब ढकाल र प्रदेश नं . ७ बाट कृष्ण ओली रहेका छन् ।

Back to top