×

बीरगंज १४ भदौ । बारम्बार सुन तस्करी र हुण्डी कारोबारमा जोडिएर पनि कानूनको दायरामा नआएका विमल पोद्दार अन्ततः जेल चलान भएका छन्। मोरङ जिल्ला अदालतको आदेशले उनीसहित पाँच जनालाई बुधबार जेल चलान गरिएको हो।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माले पूरक अभियोगको थुनछेकमा पक्राउ परेका पोद्दारसहित पाँच जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन्। जिल्ला सरकारी वकिलको कार्यालय मोरङले पोद्दार, शैयद अकबर शाह, राजुकुमार दारुका, इम्तियाज उद्दिन र सञ्जय खेतान भन्ने प्रभात अग्रवालविरुद्द पूरक अभियोग दर्ता गराएको हो।

सरकारी वकिल कार्यालयले पोद्दारसहित पाँच जनालाई ३ हजार ८ सय किलो सुन तस्करी र संगठित अपराध मुद्दा दायर गरेको हो।

उपन्यायाधीवक्ता पुण्यप्रसाद पाठकले पक्राउ परेका पाँच जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको बताए।

सरकारले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनाएको अनुसन्धान टोलीले हुण्डी व्यवसायीका रुपमा कुख्यात रहेका पोद्दारलाई असार ६ मा काठमाडौंबाट नियन्त्रणमा लिएको थियो।

सहसचिव पौडेल नेतृत्वको टोलीले सार्वजनिक अपराध कसुरमा काठमाडौं प्रशासनबाट म्याद लिएर पोद्दारसँग सोधपुछ गरेको थियो। १४ दिनसम्मको भिडियो र लिखित बयानमा पोद्दारले दारुका, अकबर, इम्तियाज र प्रभातको संलग्नता खुलाएका थिए।

काठमाडौंबाट असार ६ मा पक्राउ परेर १४ दिन प्रहरीको सुरक्षामा बल्खुमा रहेको बयोधा अस्पतालमा बसेका पोद्दारले भिडियो बयानमा सुन तस्करीमा आफ्नो संलग्नता खुलाएका थिए।

पोद्दारको बयानपछि अनुसन्धान टोली सुन तस्करीका ठूला माछा नजिक पुगेको विश्लेषण गरिएको थियो। तर ठूला माछा भने पक्राउ पर्न सकेका छैनन्।

पोद्दार व्यापारी दीपक मल्होत्रा र पवन सरियाका साझेदार हुन्।

पोद्दारपछि थप अनुसन्धानमा बीरगञ्जका सुन ब्यापारी राजु दारुका, ललितपुरको लबिम मलमा रेष्टुरेन्ट सञ्चालन गर्ने शैयद अकबर शाह र इम्तियाज तथा आफूलाई सञ्जय खेतान भनेर चिनाउने प्रभात अग्रवाललाई टोलीले नियन्त्रणमा लिएको थियो।

समितिले लिएको भिडियो बयानमा पाँचै जनाले सुन तस्करीमा संलग्नता स्वीकार गरेका छन्। काठमाडौंका केही ठूला व्यापारीका अदृश्य साझेदार रहेका पोद्दार यसअघि समेत विदेशी मुद्रा र सुन तस्करी प्रकरणमा जोडिँदै आएका थिए। असार ६ मा उनी पहिलो पटक पक्राउ परेका हुन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०६९ मा विदेश जान लाग्दा १ करोड २४ लाख विदेशी मुद्रा विदेश लैजान लाग्दाको प्रकरणका मुख्य नाइके पोद्दार नै थिए। तर उनी प्रहरी सेटिंगमा जोगिन सफल भएका थिए। प्रहरीका बहालवाला एसएसपी रविराज श्रेष्ठ बर्खास्त भएको सो घटनामा पक्राउ परेका असई हीराकाजी कुमालले पोद्दारको अवैध धन्दा खुलाएका थिए।

Back to top