×

बारा ३१ जेठ बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकाले सार्वजनिक तथा सामुदायिक जग्गामा भवन तथा अन्य कुनै संरचना नबनाउन आग्रह गरेको छ ।

उपमहानगरपालिकाले बुधवार एक विज्ञप्ती जारी गर्दै स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले सार्वजनिक तथा सामुदायिक सम्पतीको संरक्षण तथा स्वामित्व स्थानिय सरकारलाई दिएकाले त्यस्ता जग्गामा संरचना नबनाउन आग्रह गरेको हो ।

उपमहानगरपालिकाको स्वामित्वमा रहेको सार्वजनिक तथा सामुदायिक भवनमा विभिन्न संघसंस्थाले भवन तथा संरचना बनाउन थालेको गुनासो बढेपछि उपमहानगरपालिकाले विज्ञप्ती मार्फत सचेत गराएको उपमहानगरका सूचना अधिकारी नविन लामाले जानकारी दिएका छन् ।

लामाद्धारा हस्तारक्षित विज्ञप्तीमा भनिएको छ ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ (२) ले सार्वजनिक तथा सामुदायिक सम्पत्ति बेचविखन गर्न वा अरु कुनै व्यहोराले हक हस्तान्तरण गर्न वा लिजमा पनि दिन नपाउने व्यवस्था गरेको छ । त्यस्तै सोही ऐनको दफा १२ को उपदफा ख (२) ले सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने दायित्व समेत स्थानीय तहलाई दिएको छ ।’

उपमहानगरपालिकाले विज्ञप्ती मार्फत वडा नं. २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन अगाडी उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा नव जनजागृति युवा क्लबले भवन बनाउन लागेको प्रति ध्यानकर्षण भएको भन्दै उक्त जग्गामा भवन नबनाउन समेत विज्ञप्तीमार्फत आग्रह गरेको छ । नव जनजागृतिले भवन बनाउन लागेको सूचना पाएपछि तत्कालै निर्माण कार्य रोक्न पत्राचार गरिएको सूचना अधिकारी लामाले बताए ।

उपमहानगरपालिकाभित्र रहेका सरकारी, सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत संकलन र संरक्षण गर्न लागिपरेको भन्दै लामाले सो कार्यमा सहयोग, सहकार्य र सक्रिय भूमिका निभाउन उपमहानगरबासीसंग आग्रह समेत गरेका छन् ।

Back to top