×

वीरगन्ज १०जेठ सीमावर्ती भारतीय सहरको ट्राफिक व्यवस्थापन र भन्सार चेकजाँच चुस्त हुन नसक्दा नेपाली आयातकर्ताले अनावश्यक झन्झट र अतिरिक्त शुल्क बेहोर्नु परेको छ । नेपालमा भारतबाट सामान भित्रिने ठूला नाकामध्ये अधिकांशमा कुनै न कुनै समस्या देखिएको छ । नेपाल फ्रेट फरवार्ड एसोसिएसनका अनुसार सामान्य अवस्थामा दैनिक ३५० कन्टेनर भित्रिने गरेकोमा हाल भने मुस्किलले ६० देखि ७० वटामात्र कन्टेनर भित्रिने गरेका छन् । प्रमुख नाका वीरगन्ज भएर भित्रिने कन्टेनरहरुबीचको आपसी प्रतिश्पर्धा तथा भारतीय भूमिमा कमजोर ट्राफिक व्यवस्थापनका कारण आयातमा समस्या भएको व्यवसायीको भनाइ छ । रक्सोलतर्फको कमजोर पूर्वाधार र अत्यधिक जामका कारण कन्टेनरहरु समयमै गन्तव्यमा आउन सकेका छैनन् । व्यवसायीका अनुसार वीरगन्ज पारीपट्टी झन्डै ६ किलोमिटरसम्म लाइन लागेको छ । पूर्वी नाका जोगवनीबाट भित्रिने कन्टेनरमा पनि उस्तै समस्या छ । व्यवसायीका अनुसार भारतीय भूमिमा पुल भत्केका कारण वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । यसले तीन दिन बढी समय लाग्ने गरेको एसोसिएसनका निवर्तमान अध्यक्ष राजन शर्मा बताउँछन् । पश्चिम नेपालको अर्को ठूलो नाका सुनौलीमा कन्टेनरको लामो लाइनको समस्या भने नयाँ होइन । तीन महिनादेखि भारतीय कस्टम अधिकारी कै नियतवश ढिलाइका कारण नेपाल भित्रिने कन्टेनरको लाइन १७ किलोमिटरसम्म छ ।

Back to top