×

वीरगंज, फागुन २३ - अन्तराष्ट्रिय महिला दिवस २०१८ मनाउन वीरगंजमा विभिन्न कार्यक्रमहरु आयोजना हुने भएको छ । ग्लोबल एडुकेसन कौन्सिल्लिङ्ग सेन्टरको सहयोगमा सृजनसिल युवाहरुको समुह संस्कृतिले वोमन स्किल सेन्टर र सानो पाइलाको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस २०१८ मनाउन एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गर्न भएको छ ।

'कार्यस्थलमा हुने लैङ्गिक दुर्व्यवहार' विषयमा हुने उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न महिला अधिकार कर्मी, महिला नेतृ, पत्रकार, समाज सेवी, विद्यार्थी, शिक्षक लगयात अन्य पेशकर्मीहरु सहभागी हुने भएका छन् । वीरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पसको सभा हलमा आयोजना हुन् लागेको अन्तरक्रिया कार्यक्रममा नेपालमा महिलाको अवस्था र कार्यस्थलमा हुने लैङ्गिक दुर्व्यवहार लगायतका विषयहरुमा छलफल हुने संस्कृतिकि टिम लिडर शैली चौधरीले जानकारी गराईन ।

कार्यक्रममा वीरगंज महानगरपालिकाको नगर उप-प्रमुख शान्ति कार्की, पोखरिया नगरपालिकाको उप-प्रमुख सल्मा खातुन, महिला अधिकारकर्मी सुष्मा तिवारी द्विवेदी, लक्ष्मी दत्त, ममता राजकर्णिकार, दर्शना झा, आरती झा, पत्रकार माधुरी महतो लगयात विभिन्न संघ संस्थाबाट आबद्ध व्यक्ति उपस्थित रहने चौधरीले जानकारी दिईन ।

वीरगंजमा लैङ्गिक दुर्व्यवहार र हिँसा सम्बन्धि बहस सुरु गर्ने वातावरण सृजना गर्न उक्त कार्यक्रमको आयोजना गरिएको आयोजाक संस्थाहरुको भनाई छ । 'आर्थिक नगरको भनिने हाम्रो वीरगंजमा हुने लैङ्गिक हिँसा सम्बन्धि धेरै घट्नाहरु हुने गरेका छन्, म आफै यस्ता कयौं दुर्व्यवहारको सिकार भएको छु, तर यस्को बारेमा चर्चा गरि दिने कुनै संस्था छैन,' चौधरीले भनिन, 'त्यसैले हाम्रो संस्थाले वीरगंज क्षेत्रमा महिला अधिकारको लागि काम गर्दै आएको अन्य संस्थाहरु संग समन्वय गरि यो कार्यक्रम आयोजना गर्न लागेको हो ।'

त्यसैगरी सानो पाइलाको आयोजनामा वीरगंजमा एक दिने महिलाहरुको लागि विशेष आत्म रक्षा सम्बन्धि तालिम हुने भएको छ । महिला दिवसको आवसर पारेर हाम्रो संस्थाले महिलाहरुको लागि विशेष रुपमा यो आत्मा रक्षा सम्बन्धि तालिम गर्न लागेका हौँ, सानो पाइलाका रौनक राज सर्राफले भने । 'यो पहिलो चरणको तालिमको आउने दिनहरुमा पुन: यस्ता आत्म रक्षाका तालिम हाम्रो संस्थाले गराउने छ,' सर्राफले भने ।

Back to top