×

वीरगन्ज २१ माघ मोफसलकै सबैभन्दा पुरानो शैक्षिक धरोहर मानिएको वीरगञ्जको ठाकुराराम बहुमुखी क्याम्पस प्रशासकीय अक्षमता र अति राजनीतिकरणका कारण थलिन पुगेको छ । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा पहिल्यैदेखि अस्तित्वमा रहेको यो शिक्षण संस्था राजनीतिक हस्तक्षेप र शैक्षिक माफियाहरूको चङ्गुलमा फसेको छ । मुलुककै नमूना शिक्षण संस्था चरम बेथितिका कारण दिनप्रतिदिन धराशयी बन्दै गए पनि अवस्था सुधार्न सरोकारका पक्ष खासै गम्भीर देखिएका छैनन् ।

पूर्वाधारका बेथिति ः

विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायको अध्ययन÷अध्यापन हुने यो क्याम्पसका कुनै पनि विभाग आवश्यकीय न्यूनतम पूर्वाधारको अभावमा चलेको विद्यार्थीहरु बताउँछन् । त्रिविले हालै स्नातकोत्तर तहमा सेमस्टर प्रणाली लागू गरे पनि त्यसका लागि आवश्यकीय पूर्वाधारको प्रबन्ध नभएको विद्यार्थी नेता मनोज साहको भनाइ छ ।

विद्यार्थीले क्याम्पसलाई पूर्वाधारयुक्त बनाइनुपर्ने, अन्यथा सेमेस्टर प्रणाली नै खारेज गर्नुपर्ने माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । पटकपटक वार्ता भए पनि समस्या सुल्झिएको छैन । कुनै पनि सङ्कायमा न्यूनतम आवश्यकीय पूर्वाधार नभएको गुनासो विद्यार्थीहरू गर्छन् ।

माफियाको चलखेल ः

मुलुकको आर्थिक केन्द्रमा रहेको यो क्याम्पसमा व्यवस्थापन शिक्षाको अवसर र महत्व निकै छ । तर, क्याम्पसले यो सङ्कायमा उच्च शिक्षाको व्यवस्था मिलाउन सकेको छैन । बीबीएको पढाई ल्याउने वर्षौदेखिको प्रयास सफल हुन सकेको छैन । बीबीएस पठाइ भए पनि निजीस्तरमा एमबीएसको कक्षा चालेको छ । यसको सञ्चालन अपारदर्शी भएको विद्यार्थी नेताहरूको भनाइ छ ।

केही स्थानीय शैक्षिक माफिया र शिक्षाका व्यापारीहरूले सरकारी क्याम्पसमा बीबीए र एमबीए ल्याउन नदिने भरपुर प्रयासका कारण क्याम्पसले सफलता पाएको छैन । शिक्षा माफियाले त्रिविका पदाधिकारीसमेतलाई प्रभावमा पार्ने गरेको बताइएको छ । वीरगञ्जका निजी कलेजमा अन्य विश्वविद्यालयसँग सम्बन्धन लिएर यो पढाई भइरहेको छ ।

लाखौं रुपैया लिएर निजीक्षेत्रले चलाइरहेका यस्ता कलेजको आम्दानी प्रभावित हुने डरले माफियाले यसमा चलखेल गरिरहेको दाबी जानकारहरूको छ । ठाकुररामका जागिरे प्राध्यापकहरूसमेत यस्ता क्याम्पसमा सञ्चालक छन् । कतिले अध्यापन गराउँछन् ।

टेरेन ठेकेदारले ः

बीबीए कक्षा सञ्चालनका लागि भनेर दाताको सहयोगमा निर्माणाधीन भवन वर्षौदेखि पूरा हुन सकेको छैन । मोना कन्स्ट्रक्सनले डेढ करोड रुपैयाँमा लिएको भवन निर्माण गत चैतमा पूरा भइसक्नुपर्ने थियो । त्यो पनि पटकपटक समय थपिएर तन्काइएको समयसीमा हो । अहिले ठकेदार नै सम्पर्कविहीन रहेको क्याम्पस प्रमुख प्रमोद कुशवाहले बताए ।

त्रिविले यो भवन निर्माण पूरा भएमात्र बीबीए सञ्चालनको स्वीकृति दिने बताएको छ । योजना पूरा नभएकाले दाताले अन्य योजना दिन अस्वीकार गरेको क्याम्पस प्रशासन स्रोतले बतायो । ठेकेदारलाई पटकपटक पत्राचार गरे पनि सम्पर्कमा नआएको प्रमुख कुशवाहले बताए ।

पुस्तकविहीन पुस्तकालय ः

त्रिविको क्षेत्रीय पुस्तकालय नाम दिइएको पुस्तकालयमा पुस्तकको चरम अभाव भएको नेता साहले बताए । अब्यवस्थित र अस्तव्यस्त पुस्तकालयमा विद्यार्थीले खोजेको किताव फेला पार्नु ठूलै युद्ध जितेजत्तिकै हुन्छ । तर, क्याम्पसले विद्यार्थीसित पुस्तकालय शुल्क भने असुल्न छोडेको छैन । छिाटोछिटो पाठ्यक्रम परिवर्तन र नयाँ कितावको प्रबन्धको अभावमा पुस्तकालय नाममात्रको भएको छ । भएका किताव पनि च्यातिएर झुत्रा भइसकेका मात्र फेला पर्छन् ।

होस्टेलको हविगत ः

छात्र र छात्राका लागि बनाइएका होस्टल भवन जीर्ण भइसकेका छन् । मर्मतसंहार र सुधारको अभावमा भतुबंगलाजस्ता लाग्ने भवन कुनै पनि बेला भत्किने अवस्थामा पुगेका छन् । शौचालय, पानी, विद्युत्जस्ता अनिवार्य आवश्यकताको आपूर्ति अस्तव्यवस्त छ । केही महीनाअघि आएको बाढीका बेला महिला छात्रबासमा पानी पसेर बिजोग भएको छात्राहरू बताउँछन् । क्याम्पस प्रशासनले थोत्रा भवनका कारण हुन सक्ने जोखिम समाधानमा खासै चासो दिएको पाइन्न ।

अति भयो राजनीतिकरण ः

क्याम्पसका प्राध्यापक र कर्मचारी कुनै न कुनै राजनीतिक दलका पिछलग्गु भएकाले बेथितिले अझ बढावा पाएको छ । क्याम्पस प्रमुखदेखि विभागीय प्रमुखसम्ममा राजनीतिक भागवण्डामा नियुक्ति हुने भएपछि योग्यता र दक्षता ओझेलमा परेको छ । राजनीतिक पार्टीको पुच्छर समातेर पद हात पार्ने र दुरुपयोग गर्ने अभ्यास मान्यजस्तै भइसकेको छ ।

कर्मचारीमा राजनीतिक गुटबन्दीले कामप्रतिको जवाफदेहिताभन्दा पनि राजनीतिक भक्तिले बढावा पाएको छ । पुराना कर्मचारी सेवानिवृत्त भए पनि नयाँ भर्ना हुन नसकेको अवस्थामा यसै पनि काम प्रभावित भएको छ । त्यहीमाथि राजनीतिकरणले यो समस्यालाई थप चर्काएको छ । प्राध्यापक र कर्मचारीहरू हाजिर गरेर टाप कस्ने (हाटा)मा पोख्त हुँदा शैक्षिक वातावरण बिग्रिएको छ ।

दशकदेखि स्ववियुविहीन ः

सामान्यतया सरकारी क्याम्पसलाई राजनीतिक नेता उत्पादनको थालो पनि मानिन्छ । विद्यार्थी सङ्गठनमा आवद्ध विद्यार्थीले यहाँ आफूमा नेतृत्व क्षमता विकासको अवसर पाउँछन् । तर, विडम्वना यहाँका प्राध्यापक र कर्मचारीमा मात्र राजनीति हाबी छ ।

करीब दशकयता यो क्याम्पसमा स्ववियुको चुनाव भएको छैन । नेपाल विद्यार्थी सङ्घमा आवद्ध विद्यार्थी नेता साह कम्तीमा स्ववियु भइदिएको भए विद्यार्थी युनियनले यस्ता समस्याको समाधानमा प्रभावकारी दबाब बनाउन सक्ने बताउँछन् । गत वर्ष तोकिएको स्ववियु चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो ।

अन्यत्र केही क्याम्पसमा चुनाव भए पनि यो क्याम्पसमा हुन सकेन । २०६५ सालयता स्ववियुको चुनाव भएको छैन । क्याम्पस प्रमुख कुशवाह आफूले क्याम्पस प्रशासन सम्हालेपछि सुधारको प्रयास गरेको दाबी गर्छन् । तर, सुधारको एउटा पनि उल्लेख्य उपलब्धि र सङ्केत भने देखा परेको छैन ।

Back to top