×

वीरगञ्ज । बारा प्रहरीले करिब ३१ लाखको अवैध सामानसहित ट्रक र पिकअप भ्यान नियन्त्रणमा लिएको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएका प्रहरी टोलिहरूले विभिन्न स्थानमा गाडी जाँच गर्दा बिल भरपाई भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको अन्दाजी ३० लाख ९८ हजार ९ सय ४३ रूपैयाँ बराबरको समान सहित ट्रक र पिकअप गाडि नियन्त्रणमा लिइको हो । 

जिल्ला प्रहरी कार्यालय बाराले प्रसौनी गाँउपालिका २ प्रसौनीमा प्रसौनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २८१९ नं. को ट्रकमा लोड गरेको काजु, बेल्ट, पर्स, कागज र अन्य समानहरू गरी ६ लाख रूपैयाँ बराबरको सामान बरामद गरेको हो ।

यस्तै, ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका १ सूर्य नेपालस्थित वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको ना.४ क १९२८ नं को बसमा लोड गरेको मल १८ हजार रुपैयाँको १२ बोरा मल बरामद गरेको छ । 

यसैगरी ईलाका प्रहरी कार्यालय जीतपुरले जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बागमति प्रदेश ०१–००६ ख ३१३९ नं. को बसमा लोड गरेको यूरिया मल र चिनी गरी अन्दाजी मूल्य रू.११ हजार ५०० रूपैयाँ बराबरको सामान बरामद गरेको हो ।

यता, प्रहरी चौकी मुसहर्वाले बिश्रामपुर गाँउपालिका–३ मुसहर्वास्थित भारतबाट भन्सार छलि गरी ल्याउँदै गरेको पर्दा ७२ वटा, र झुल ११ थान गरी ४० लाख रूपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ । 

यस्तै, प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा–१ पथलैया चोक स्थित वीरगञ्जबाट सिराहातर्फ जाँदै गरेको ना ४ ख २७४१ न को ट्रकमा लोड गरेको विभिन्न खुद्रा समान अन्दाजी २२ लाख १५ हजार ८२३ रूपैयाँ बराबरको बिल भरपाई भन्दा बढीको स्रोत खुलाउन नसकेको सामान बरामद गरेको छ ।

यसैगरी वीरगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको ना ३ च २०६१ न. को पिकअप गाडिमा लोड गरेको विभिन्न खुद्रा समान ३ लाख १३ हजार ६२० रुपैयाँ बराबरको बिल भरपाई नभएको सामान बरामद गरेको प्रवक्ता तथा सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । 
 

Back to top