×

वीरगञ्ज । जनकपुरको पिडारी चोकमा रहेको नमुना होटेल एन्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका – ३ का अन्दाजी ३० वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी होटेलको २०४ नम्बरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यादव मङ्गलवार बेलुका करिब ७ बजे होटेल बुक गरेका थिए । उनी झुन्डिएको कोठाको ढोका खुल्ला रहेको थियो । उनलाई मृत देखेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेर भागेका थिए ।

मृतकका नातामा दाइ पर्ने राकेश यादवले घटना शङ्कास्पद गरेको बताए । उनले भने, ‘झुन्डिएको कोठा खुल्ला छ । सही सत्य के हो? होटेलको सिसी क्यामेरा हेरेर प्रहरीले अनुसन्धान गर्नुपर्छ ।’

उनका अनुसार मित अविवाहित छन् । कतारबाट एक महिना अगाडि मात्रै बिदामा आएका थिए । अगामी महिनाको ५ तारिखमा पुनः कतार जानका लागि टिकट समेत लिइसकेका थिए ।

होटेल छाडेर भागेका सञ्चालक (नाम खुल्न नसकेको)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन‌‌‌ अवाले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘अहिले भर्खर मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि पठाएर आएका छौँ । मृतकका आफन्तसँग बुझ्न बाँकी छ ।’

यस अघि मङ्गलवार दिउँसो मात्रै जनकपुरको रामानन्दचोकस्थित होटेल होलिडे एन्ड गेस्ट हाउसमा एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

Back to top