×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १४ पिपरामा मङ्गलवार दिउँसो भेटिएको शवको अझै पनि पहिचान खुल्न सकेको छैन ।

पिपरास्थित स्वास्थ्य कार्यालय अगाडिको नालामा घोप्टो परेको अवस्थामा भेटिएको शवको पहिचान अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले भेटिएको शव अन्दाजी ४० देखि ५० वर्षको पुरुषको रहेको जानकारी दिए । शवको वर्ण श्याम्लो, उचाइ ५ फिट २ इन्च रहेको उनले बताए । शवले शरीरमा खैरो रङ्गको भेष्ट र निलो ट्रेक लगाएको छ ।

मङ्गलवार दिउँसो शवलाई देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गरेका थिए । खबर पाएसँगै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाई शवलाई वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याएको डिएसपी थापाले बताए ।

शव अहिले पनि नारायणी अस्पतालस्थित शव गृहमा राखिएको छ । एउटा तस्बिर सार्वजनिक गर्दै प्रहरीले शवको पहिचानमा सहयोग गर्न आग्रह समेत गरेको छ ।

डिएसपी थापाका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Back to top