×

वीरगञ्ज । नौ वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर महाभूकम्प गएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी महाभूकम्पको स्मृति दिवस मनाइँदै छ ।

०७२ वैशाख १२ गते बिहान ११:५६ बजे ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । सामान्य दैनिकीमा व्यस्त मुलुक अकस्मात् वैशाख १२ गतको भूकम्पले ध्वस्त बनाएको थियो ।

त्यस बखत नेपाली जनताले कहिल्यै नभोगेको, नसोचेको क्षति भयो । धरहरा, वसन्तपुर ढल्यो। गाउँ, टोलदेखि अस्पतालसम्म चिच्याहट फैलियो। महाभूकम्पबाट करिब ८ हजार ८ सय जनाले ज्यान गुमाउँदा २२ हजार भन्दा बढी घाइते भए ।

झन्डै पाँच लाख घरहरू क्षति भए। हजारौँको सङ्ख्यामा विस्थापित बने । ८ हजार बढी विद्यालयका भवनहरू भत्किए, करिब ८ सय ऐतिहासिक सम्पदा, हजारौँको सङ्ख्यामा अस्पताल र लाखौँ निजी तथा सरकारी घर-भवनहरू भत्किँदा करिब ६६९ अर्ब रुपैयाँ बराबरको क्षति नेपालले व्यहोर्नु पर्‍यो ।

गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।

यसै गरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

वि.सं २०७२ साल वैशाख १२ गतेको भूकम्पले व्यापक जनधनको क्षति गरेपछि सुरु गरिएको पुनर्निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । सहरी विकास मन्त्रालयको भवन विभाग अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइको तथ्याङ्क अनुसार, लाभग्राहीको सङ्ख्या ८ लाख ६८ हजार १ सय ४० रहेको छ ।

गोरखा भूकम्पले दिएको पीडा कसैले बिर्सन सक्दैनन् । त्यसो त, नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको ११औँ स्थानमा पर्दछ । नेपालको भौगर्भिक अवस्था निकै कमजोर मानिन्छ । बेलाबेलामा स-साना भूकम्प गइरहनुले पनि नेपालको भौगर्भिक अवस्था कमजोर देखिन्छ ।

यसैबिच गोरखा भूकम्पको सम्झनामा आज बृहत् फोटो प्रदर्शनी हुने भएको छ । खानी तथा भूगर्भ विभागको आयोजना तथा संवाहिका समाज नेपालको सहआयोजनामा बुधवार विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भ विभाग लैनचौरमा बृहत् फोटो प्रदर्शनी हुन लागेको हो ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेले वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिलाई स्मरण गराउनका लागि विभागले बृहत् फोटो प्रदर्शनी आयोजना गरेको जानकारी दिए । उक्त प्रदर्शनीमा भूकम्पले पुर्‍याएको क्षति र आम जनताले भोग्नुपरेको समस्याबारे ५० चित्र प्रदर्शनी हुनेछन् ।

Back to top