×

वीरगञ्ज । पूर्व मन्त्री अशोक राईको नेतृत्वमा विभाजित जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ कार्यसमिति गठन भएको छ ।

आइतबार वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजित भएको हो । राई अध्यक्ष रहेको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको सांसद प्रदीप यादवले जानकारी दिए । 

उनका अनुसार नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) र चुनाव चिह्न मुट्ठी दाबी गर्दै आयोगमा निवेदन दर्ता गराइएको छ । राईको नेतृत्वमा जसपाका बहुमत ७ सांसदले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेर निवेदन दिएका छन् । 

जसपाका अध्यक्ष उपेन्द्र यादव भने अमेरिकामा छन् । यादव अमेरिकामै रहेका बेला राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खानुत र रञ्जु झाले हस्ताक्षर गरेका छन् । 

प्रतिनिधिसभा जसपा नेपालका १२ सांसदमध्ये बहुमत ७ सांसद विभाजनको पक्षमा उभिएका हुन् । विभाजनको पक्षमा उभिएका महतो बहालवाला वन तथा वातावरण मन्त्री हुन् ।

नव गठित पार्टीको सङ्घीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सह अध्यक्षमा राखिएको छ । नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई रहेका छन् ।

प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा. वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।

Back to top