×

वीरगञ्ज । कोशी प्रदेशमा चलचित्र छायांकनका लागि ईनडोर स्टुडियो निर्माण गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । ईनडोर स्टुडियो बनाएमा चलचित्र निर्माण तथा छायांकनमा अझै सहज हुने वक्ताहरुको भनाई छ । 

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशले मोरङ शाखाको सहकार्यमा नयाँ वर्ष तथा विश्व कला दिवसको अवसरमा आयोजित ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले नेपाली चलचित्र क्षेत्रको विकासका लागि स्थानीय सरकारले कर छुट गर्नुपर्ने आवश्यक्ता औँल्याएका छन् । वक्ताहरुकाअनुसार नेपालमा अन्य देशको तुलनामा नेपालमा फिल्म हल संचालनमा करभार अत्यधिक छ । 

प्रदेशमै रही आजीवन कलाकारिता गर्ने कला साधना तथा कलाकारिताद्वारा योगदान दिनेहरुलाई जीवन पर्यन्त स्थानीय, प्रदेश सरकारले परिचय पत्र प्रदान गर्दै राहत प्रदान गर्नुपर्ने निचोड अन्तरक्रियाबाट निकालिएको छ । 

संघकी कोशी प्रदेश अध्यक्ष सन्जु राई (सुमित्रा) को अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै बिराटनगर उपमहानगर पालिकाका प्रमुख नागेश कोइरालाले बिराटनगरमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने योजना सुनाए । कोशी प्रदेशमा चलचित्र क्षेत्रको प्रवद्र्धन र चलचित्रमार्फत पर्यटनको बृद्धि गर्न पहल गर्ने प्रमुख कोइरालाको भनाई छ । बिराटनगर कोशी प्रदेशको राजधानी भएकाले प्रदेश सरकारसँग समन्वय गर्दै चलचित्रको विकासका लागि काम गर्नुपर्ने उनले बताए । 

भौगोलिक, सामाजिक तथा साँस्कृतिक विविधता युक्त सुन्दर प्रदेश भए पनि कोशीमा अपेक्षीत  सिनेमा छायांकनका गतिविधि हुन नसकेको चलचित्रकर्मीको भनाई थियो । सोही अभावलाई परिपूती गर्नका लागि सरोकारवाला पक्षसँग कोशी प्रदेशको कलाकार तथा संचारकर्मीहरुको उपस्थितिमा सिने समस्या र समाधानको उपायहरु खोज्न कार्यक्रमको आयोजना गरिएको कोशी प्रदेशकी अध्यक्ष सञ्जु राईले बताइन् ।  

अन्तरक्रिया कार्यक्रममा चलचित्रकर्मी केशब रायमाझी, कलाकार प्रेम सुब्बा, हल व्यवसायी कुवेर शर्मा, गायक श्रीकृष्ण लुईटेल (बोकेदाह्री) वक्ता रहेका थिए भने चलचित्र निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीषण राईले टिप्पणी गरेका थिए । चलचित्र पत्रकार संघ कोशी प्रदेशका सचिव सुवास संकल्प श्रेष्ठले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य एवम् कोशी ईन्चार्ज नरेन्द्र बस्नेत लगायतको उपस्थिती रहेको थियो । 

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका सहसचिव बिकल श्रेष्ठले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष बिरेन्द्रकुमार साहले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । कार्यक्रममा मोरङ शाखाका अध्यक्ष प्रेम देवानले स्वागत मन्तव्य राखेका थिए । 


 

Back to top