×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज लखनउ सुपर जाइन्ट र मुम्बई इन्डियन्सबिच खेल हुँदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ ।

जारी आइपिएलमा लखनउले खेलेका ९ खेलमा ५ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ । १० अङ्क हासिल गरेको लखनउ हाल अङ्क तालिकामा पाँचौँ स्थानमा रहेको छ ।

त्यसै गरी मुम्बई इन्डियन्सले भने यस सिजनमा खराब प्रदर्शन गरिरहेको छ । हालसम्म ९ खेलमा ३ जित र ६ हार बेहोरेको मुम्बई अङ्क तालिकामा नवौँ स्थानमा रहेको छ ।

लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्त्वपूर्ण हुने देखिन्छन् ।

त्यस्तै यसै सिजनमा डेभ्यु गरेका लखनउका तीव्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने बारे स्पष्ट भएको छैन । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यान केन्द्रित गरेका थिए । उनले यस आइपिएलमा अहिलेसम्म १५६.८ किमी प्रति घण्टाको गतिमा बल फालेर नयाँ रेकर्ड बनाइसकेका छन् ।

त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै मुम्बई इन्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो सुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ ।

Back to top