×

वीरगञ्ज । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड रुपैयाँ नाफा कमाए । झट्ट हेर्दा बैंकहरुको नाफा निकै ठूलो रकम हो ।

तर, बुझ्नुपर्ने कुरा के हो भने ४० अर्ब ६८ करोड रुपैयाँ नाफा कमाउन बैंकका सेयरधनीले ६ खर्ब ४४ अर्ब रुपैयाँ लगानी गरेका छन् । बैंकका सेयरधनीको लगानीमा बैंकिङ क्षेत्रले १०.७३ प्रतिशत प्रतिफल दिएको छ ।

यो प्रतिफल पनि सेयरधनीले तत्काल हातमा पाउने छैनन् । किनभने, बैंकहरुको वितरणयोग्य नाफा जम्मा २ अर्ब ७५ करोड रुपैयाँ मात्रै छ । दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

त्यसैले बैंकहरुले कति नाफा कमाए भनेर हेर्नुभन्दा पनि बैंकहरुले लगानीकर्ताको सम्पत्तिमा कति प्रतिफल दिए भनेर हेर्नुपर्छ । अहिलेको बैंकिङ क्षेत्रको रिटर्न अन इक्वीटी (आरओई) संभवत इतिहासकै कम हो । त्यसैले अहिले बैंकिङ लगानीका हिसाबले ऐतिहासिक कमजोर अवस्थामा पुगेको विश्लेषण गर्न सकिन्छ ।

पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनको गहिरो असर बैंक तथा वित्तीय संस्थाको आरओईमा देखिएको हो । अवस्था नसुध्रिए आगामी दिनमा बैंकहरुको आरओई अझै घट्ने सहजै अनुमान गर्न सकिन्छ ।

आरओई घट्दै जान थालेपछि बैंकका सेयरधनीले समेत आफ्नो स्वामित्व घटाउन थालेका छन् । बैंकिङ क्षेत्रको प्रतिफल कमजोर हुन थालेपछि संस्थापक सेयरधनीहरु धमाधम बाहिरिन थालेको हुन् ।

बैंकहरुले प्रकाशित गरेको सूचना हेर्दा बैशाख यतामात्रै करिब २०० भन्दा बढी संस्थापक सेयरधनीले साढे ३ करोड बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । आरओई घट्न थालेपछि बैंकका ठूला सेयरधनीहरु आफ्नो लगानी डाइभर्ट गर्न थालेका हुन् ।

चैत मसान्तसम्म बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेको छ । ०७९ चैत मसान्तमा बैंकहरुको नाफा ४७ अर्ब १ करोड ५३ लाख ९४ हजार रुपैयाँ रहेको थियो । ०८० चैत मसान्तमा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँमा खुम्चिएको हो ।

अर्थतन्त्रमा देखिएको संकूचनले बैंकहरुको नाफ १३.४७ प्रतिशतले खुम्चिँदा औषतमा २३.७९ प्रतिशतले घटेको छ । ०७९ चैतमा बैंकहरुको आरओई औषतमा ११.८५ प्रतिशत रहेको थियो । अहिले २३.७९ प्रतिशतले घटेर ९.०३ प्रतिशतमा झरेको छ ।

चैत सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तमा औसत आरओईभन्दा पनि कम आरओई हुने १३ वटा बैंक रहेका छन् । सबैभन्दा बढी आरओई स्टयान्डर्ड चार्टर्ड बैंकको १९.११ प्रतिशत रहेको छ । त्यो पनि ०७९ चैतको भन्दा ९.५१ प्रतिशतले कम हो ।

सबैभन्दा कम आरओई नेपाल बैंकको १ प्रतिशतभन्दा कम अर्थात् ०.४९ प्रतिशत रहेको छ । जुन अघिल्लो चैतको भन्दा ९३.१० प्रतिशतले कम हो ।

चैत मसान्तसम्म १६ वटा बैंकको आरओई घटेको छ । ४ वटा बैंकको मात्रै बढेको छ । आरओई बढाउने बैंकमा प्राइम बैंक, कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंक रहेका छन् ।

कृषि विकास बैंकको आरओई ०७९ चैत मसान्तको तुलनामा ८५.३६ प्रतिशतले बढेर ८.२३ प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आरओई ४.२० प्रतिशतले बढेर ७.९३ प्रतिशत रहेको छ । अघिल्लो चैतमा ७.६१ प्रतिशत रहेको थियो । यस्तै प्राइम बैंकको आरओई १२.४२ प्रतिशतले बढेर १४.३० प्रतिशत रहेको छ । ०७९ चैतमा १२.७२ प्रतिशत रहेको थियो ।

यस्तै हिमालयन बैंकको आरओई ६.९८ प्रतिशतले बढेर ७.८१ प्रतिशत रहेको छ । अघिल्लो चैतमा ७.३० प्रतिशत रहेको थियो ।

चैत मसान्तसम्म एभरेष्ट बैंकको आरओई १४.५९ प्रतिशत रहेको छ । ०७९ चैतको तुलनामा ४.७० प्रतिशतले घटेको छ ।

नबिल बैंकको आरओई १३.०१ प्रतिशतले घटेर १२.१६ प्रतिशत, एनएमबि बैंकको २०.८१ प्रतिशतले घटेर ११.३४ प्रतिशत, सानिमा बैंकको २४.१६ प्रतिशतले घटेर १०.४५ प्रतिशत रहेको छ ।

सिद्धार्थ बैंकको आरओई १० प्रतिशतभन्दा कम रहेको छ । ०७९ चैत मसान्तमा ९.३३ प्रतिशत रहेको आरओई ०.९६ प्रतिशतले घटेर ९.२४ प्रतिशत रहेको छ ।

बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय अवस्था अनुसार चैत मसान्तसम्म एनआईसी एशिया बैंकको ५८.९२ प्रतिशतले घटेर ८.९७ प्रतिशत, नेपाल एसबिआई बैंकको ३९.९२ प्रतिशतले घटेर ८.९७ प्रतिशत रहेको छ ।

सिटिजन्स बैंकको ७.२ प्रतिशतले घटेर ८.१२ प्रतिशत, ग्लोबल आइएमई बैंकको २८.८३ प्रतिशतले घटेर ८.१२ प्रतिशत, प्रभु बैंकको ७.४६ प्रतिशतले घटेर ७.६९ प्रतिशत, माछापुच्छ्रे बैंकको ४२.८३ प्रतिशतले घटेर ७.१८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ५८.७१ प्रतिशतले घटेर ६.२८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४३.८४ प्रतिशतले घटेर ५.७० प्रतिशत र कुमारी बैंकको ४१.९४ प्रतिशतले घटेर ४.०७ प्रतिशत रहेको छ ।  साभार : क्लिकमान्डुबाट

Back to top