×

वीरगञ्ज । वीरगञ्जमा आयोजित तीन दिने रात्री बजार सम्पन्न भएको छ । चैत २९ गतेदेखि नयाँ वर्षलाई लक्षित गरेर वीरगञ्ज महानगरले विभिन्न संघ संस्थासँगको सहकार्यमा आयोजना गरेको रात्री बजार शनिवार रातीदेखि सम्पन्न भएको हो । 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज, वीरगञ्ज साइक्लिंग क्लब, फोरजी आर, वुमेन्स क्रियशन लगायतका संघ संस्थाले रात्री बजार लगाउन वीरगञ्ज महानगरपालिकासँग हातेमालो गरेका थिए । 

गत वर्षदेखि महानगरपालिकाले हरेक महिनाको अन्तिम शुक्रवार र शनिवार रात्री बजार सञ्चालन गर्ने योजना बनाएको थियो । सोही योजनालाई निरन्तरता दिँदै महानगरपालिकाले नयाँ वर्षलाई मध्यनजर गरेर रात्री बजारको आयोजना गरेको महानगर प्रमुख राजेशमान सिंहले बताए ।

नयाँ वर्षमा घुम्नका लागि वीरगञ्ज बाहिर नगएर वीरगञ्जमै रमाउने वातावरणको सृजना गरिएको प्रमुख सिंहको भनाई छ । प्रमुख सिंहकाअनुसार व्यापार व्यवसायमा बृद्धि गरी आर्थिक गतिविधि बढाउने अभिप्रायले रात्री बजारको अवधारणा ल्याइएको हो ।

तीन दिने रात्री बजारमा करिब ५ लाख बढी दर्शले अवलोकन तथा भ्रमण गरेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले दाबी गरे ।उनकाअनुसार पहिलो दिन केही बेर चलेको हावाहुरीले गर्दा थोरै दर्शक उपस्थित भएपनि दोस्रो र तेस्रो दिन भने उल्लेख्य उपस्थिती रहेको थियो । मुस्लिम धर्मावलम्बीको ईदसँगै नयाँ वर्ष तथा चैती छठ पर्व पनि सँगै परेको हुँदा बाक्लो उपस्थिती देखिएको उनको भनाई छ । 

रात्री बजारको अवसरमा राखिएका १४० वटा स्टलबाट ३ दिनमा करिब २ करोड भन्दा बढीको कारोबार भएको खेतानले जानकारी दिए । खेतानकाअनुसार रात्री बजार लगाउनका लागि करिब १६ लाख रुपैयाँ खर्च भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

टेन्ट, लाइटिंग, स्टेज निर्माण तथा सजावट, साउण्ड सिस्टम, कलाकारसँगै सेल्फी स्ट्याण्ड, आकर्षकका लागि बनाइएको घण्टाघर तथा अन्य गरी करिब १६ लाख रुपैयाँ खर्च भएको खेतानले यात्रा डेलीलाई जानकारी दिए । 

रात्री बजारमा प्रायोजकबाट ८० हजार रुपैयाँ प्राप्त भएको खेतानले बताए । त्यस्तै १४० वटा स्टलबाट प्रतिस्टल १ हजार रुपैयाँका दरले १ लाख ४० हजार रुपैयाँ आम्दानी भएको खेतानको भनाई छ ।

यात्रा डेलीको फेसबुक पेजबाट पनि रात्री बजारको भिडियो हेरेर देश तथा विदेशका दर्शकले प्रतिक्रिया दिएका छन् । वीरगञ्ज महानगरपालीकाले रात्री बजारको अवधारणा ल्याएसँगै त्यसकै सिको देशका अन्य शहरले पनि गरीरहेको वीरगञ्ज साइक्लिंग क्लबका अध्यक्ष सञ्जय अग्रवालले बताए । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :


 

Back to top