×

वीरगञ्ज । वीरगञ्जको केएफसी रेस्टुराँमा कुनै पनि समस्या नरहेको पाइएको छ । विभिन्न सञ्चार माध्यममा आएका समाचार पश्चात् वीरगञ्ज महानगरले गरेको अनुगमनका क्रममा रेस्टुराँमा कुनै समस्या नभेटिएको अनुगमन समितिका सदस्य कन्हैया ठाकुरले बताए ।

ठाकुरले भने, “गुनासो आएपछि हामी अनुगमन गर्न पुगेका थियौँ । तर त्यहाँ गैर हेर्दा केएफसी रेस्टुराँले सम्पूर्ण मापदण्ड पालना गरिरहेको पायौँ । गुनासोको विषयमा पनि रेस्टुराँका सञ्चालकहरूले स्पष्ट पारेका थिए ।

केही दिन अगाडि मात्र सञ्चालनमा आएको केएफसी विश्व प्रख्यात ब्रान्ड हो । संसारका झन्डै प्रत्येक मुलुकमा आफ्नो रेस्टुराँ सञ्चालन गरेको केएफसीले गुणस्तरको मामिलामा कुनै पनि सम्झौता गर्ने गरेको छैन ।

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित बजार अनुगमन समितिले बिहीबार केएफसी रेस्टुराँमा अनुगमन गरेको थियो । विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा रेस्टुराँले उपलब्ध गराएको खानाका परिकारको तस्बिरसहित जनगुनासो आएपछि अनुगमन गरिएको वीरगञ्ज महानगरपालिका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विपिन कुमार दासले बताए ।

दासले पनि अनुगमनका क्रममा केएफसीको किचेनसँगै आउटलेट लगायतका क्षेत्रको अनुगमन गर्ने क्रममा गुणस्तरको मामिलामा केएफसीले कुनै सम्झौता नगरेको भेटिएको बताए । सरसफाइ र स्वास्थ्यका विषयमा केएफसी खरो उत्रिएको दासको भनाई छ ।

देवयानी इन्टरनेशनल नेपाल प्रालिले वीरगञ्जको स्काइलाइन मलमा मधेस प्रदेशकै पहिलो केएफसी रेस्टुराँ सञ्चालनमा ल्याएको छ ।

टोलीले बिहीबार नै वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्टमा पनि अनुगमन गरेको छ । क्लार्क रिसोर्टको किचेन भने फोहोर देखिनुका साथै किचेनमा प्रतिबन्धित हाइड्रो पाइएको र म्याद गुज्रिएका मसला समेत पाइएको अनुगमन समितिका सदस्य कन्हैया ठाकुरले बताए । उनकाअनुसार क्लार्क रिसोर्टलाई सचेत गराई आगामी दिनमा ध्यान दिन आग्रह गरिएको छ । 

होटेल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले राम्रो सरसफाइ गरी किचेनलाई व्यवस्थित राखेर ग्राहकहरूलाई स्वस्थ परिकार र सेवा दिएका होटेल व्यवसायीहरूलाई प्रोत्साहन समेत गरिएको बताएका छन् ।

अनुगमन टोलीमा विपिन कुमार दास, खाद्य अधिकृत सुरेश कुमार सिंह,  होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, जिल्ला  प्रशासन कार्यालय पर्साका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Back to top