×

वीरगञ्ज । भारतमा धनी र गरिबबिचको खाडल झनै बढेको अध्ययनहरूले देखाएको छ । 

सन् २०२३ को अन्त्यसम्मको तथ्याङ्कहरूलाई आधार मानेर गरिएको अनुसन्धानमा भारतमा एक प्रतिशत अति धनी व्यक्तिहरूको स्वामित्वमा देशको ४०. १ प्रतिशत सम्पत्ति रहेको पाइएको छ ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार ग्रहण गरेपछि धनी र गरिबबिचको खाडल झनै तीव्र रूपमा फराकिलो भएको पनि उक्त अध्ययनले देखाएको छ । असमानताका मुद्दाहरूमा अनुसन्धान गर्ने फ्रान्सका प्रख्यात अर्थशास्त्री थोमस पिकेट्टी लगायतका विशेषज्ञहरूले गरेको अनुसन्धानका अनुसार, शीर्ष एक प्रतिशत अथवा करिब ९२ लाख मानिसहरूले कुल आयको २२. ६ प्रतिशत कमाउने गरेका छन् ।

जुन सन् १९२० को दशक पछिकै सबै भन्दा ठुलो हिस्सा हो । उक्त प्रतिवेदनले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रका रूपमा उदाएको भारतमा गहिरिँदै गएको असमानतालाई, नव धनाढ्यहरूको अधीनमा रहेको अहिलेको भारतको अर्थतन्त्रले धनी र गरिब बिचको असमानता ब्रिटिस औपनिवेशिक युगको भन्दा पनि ठुलो भएको औँल्याएको छ ।

विश्व असमानता अनुसन्धान केन्द्रले भारतमा अहिले पनि शैक्षिक अवसरहरूको अभाव जस्ता कारणले ठुलो हिस्सा कम आयस्रोतबाट माथि उठ्न असमर्थ रहेको जनाएको छ ।

Back to top