×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वर्षातको समय अगावै महानगरभित्रका सबै नाला सफा गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरुप धमाधम नाला सफा गर्ने कार्य भइरहेको महानगरका सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताए । 

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरका सबै ठूला नालाहरु सफा गर्ने कार्य १ सातादेखि भइरहेको मियाँको भनाई छ । उनकाअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १, २, ३, ७, ११, १४, १६ लगायतका वडामा सरसफाई गरिएको छ । अन्य वडामा पनि सरसफाई भइरहेको उनले बताए । 

उनकाअनुसार महानगरसँग रहेका ४ वटा स्काभेटर, ७ वटा ट्याक्टर लगायतका उपकरणको प्रयोगले नाला सफा भइरहेको छ । नाला सरसफाईका लागि ४० जना कर्मचारी परिचालित रहेको मियाँले यात्राडेलीलाई जानकारी दिए । बिक्रम सिंह, सुनिल कुमार उपाध्याय, भोला स्विपर, मंगरु मल्लिक लगायत स्विपर, नाइकेहरु नाला सरसफाईमा खटिएका छन् । 

गर्मी बढेसँगै लामखुट्टेको प्रको पनि बढ्ने भएकाले नाला सफा गर्न थालिएको मियाँले बताए । उनले यात्राडेलीसँग भने, ‘नाला सफा गर्दा लामखुट्टेको लार्भा पनि मर्छ, जसले गर्दा यसको प्रकोप बढ्न पाउँदैन । त्यसैले हामीले वर्षातको मौसम अघि नै सबै नाला सफा गर्ने लक्ष्य लिएर काम गरीरहेका छौँ ।’वर्षातको समयमा हुने डुबानको जोखिम पनि नाला सफा गर्दा कम हुने उनको विश्वास छ । 
 

Back to top