×

वीरगञ्ज । वीरगञ्जको हरि खेतान बहुमुखी क्याम्पसले अनावश्यक मानसिक तनाव दिएको परीक्षार्थीले आरोप लगाएका छन् । कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीलाई मानसिक तनाव दिएको भन्दै आइतबार विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नेशनल इन्फोटेक (एनआइ) कलेजका विद्यार्थी अनुशासन प्रमुख सुधीर पटेलका अनुसार शान्त र सभ्य वातावरणमा विद्यार्थीले परीक्षा दिन पाउनुपर्छ । उनले यात्रा डेलीसँग भने, ‘हरि खेतानमा मात्रै परीक्षा चलेको हैन, अरू कलेजमा पनि परीक्षा चलीराछ । हरि खेतानले एनआइ कलेजको रिस गरेर विद्यार्थीलाई मानसिक टर्चर दिएको छ । यो कदापि सह्य हुँदैन । परीक्षा कडा हुनुपर्छ तर विद्यार्थीलाई मानसिक रूपमा तनाव दिनुहुँदैन ।’

पछिल्लो समय डा. भगवान् प्रसाद यादव क्याम्पस प्रमुखको जिम्मेवारीबाट बाहिरिएसँगै हरि खेतान क्याम्पसको साख पनि खस्दै गएको छ । त्यही विश्वासलाई बचाउनका लागि किशोरी रायले षड्यन्त्र रच्दै पछिल्लो एक दशकदेखि उत्कृष्ट नतिजा ल्याउँदै आएको एनआइ कलेजका विद्यार्थीलाई मानसिक तनाव दिएर परीक्षा बिगार्न खोजेको यस घटनाबाट स्पष्ट हुन्छ ।

हरेक १०/१५ मिनेटको अन्तरालमा ६/६ जनाको समूहमा आएर चेकजाँचको बहानामा दुःख दिने तथा अनावश्यक बहानामा मानसिक तनाव दिने कार्य गरेको विद्यार्थीहरूले बताए । कलम खस्दा पनि उठाउन नदिने, स्ट्यापलर माग्दा घरबाट लिएर आइज भन्ने तथा बिना कारण डेढ घण्टासम्म उत्तर पुस्तिका खोसेर राखिदिने, विद्यार्थीहरूलाई नाङ्गो पारेर कक्षा कोठामा घुमाउँछु भन्ने किसिमको अमर्यादित र अशोभनीय धम्की दिने किसिमको गतिविधि गरिएको आरोप परीक्षार्थीहरूले लगाएका छन् ।

‘एनआइ कलेजले पैसा ल्याएर परीक्षा केन्द्र किनोस् भन्ने सोच होला, तर हामीले त्यस्तो केही नगरेपछि हाम्रा विद्यार्थीलाई दुःख दिइएको हुन सक्छ’, पटेलले भने, ‘हरि खेतान क्याम्पसको कोठामा राखिएका सिसी टिभी क्यामरा चेक गर्दा हुन्छ । परीक्षाको बेला विद्यार्थीलाई मानसिक तनाव र टर्चर दिनु कदापि सह्य हुँदैन । विद्यार्थीहरू बाध्य भएर आफ्ना मागहरू राख्न प्रदर्शनमा उत्रिएका हुन् ।’

विद्यार्थीको भविष्यसँग खेलवाड नगरी सहज वातावरणमा परीक्षा दिने वातावरण मिलाइदिनुपर्ने उनको माग छ । 

क्याम्पस प्रमुख किशोरी रायले विद्यार्थीको आरोप तथ्यहीन रहेको तर्क गरे । उनले सुनियोजित तरिकाले विद्यार्थीले तोडफोड गरेको उल्टै आरोप लगाए । साथै उनले तोडफोडबाट भएको क्षतिपूर्ति एनआइ कलेजले दिनुपर्ने माग गरे ।
 

Back to top