×

वीरगञ्ज, २६ फागुन ।  वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुने भनिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको प्रकृया स्थगीत भएको छ । क्याम्पस प्रमुख डा. उमेशकुमार चौरसियाले शुक्रबार एउटा सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि स्ववियू निर्वाचनको प्रकिया स्थगित गरिएको जानकारी दिए । 

क्याम्पसमा गठित निर्वाचन समितिले जारी गरेको मतदाता नामावलीमा फर्जी विद्यार्थीसमेतको नाम रहेको विषयमा विद्यार्थी र प्रशासनको विच चलिरहेको विवादका क्रममा असन्तुष्ट विद्यार्थीहरुको एउटा समूहले क्याम्पको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेपछि प्रमुख डा. चौरसियाले सूचना जारी गर्दै यसअघि निर्धारित स्ववियू निर्वाचन प्रकृया स्थगीत गरिएको जानकारी गराएका हुन् ।

आजगजनीको घटनापछि शनिबारका लागि निर्धारित मनोनयन पत्र दर्ता कार्यक्रमसहित त्यसपपछिका निर्वाचन कार्यतालिका हालका लागि स्थगीत गरिएको डा. चौरसियाले जानकारी दिए ।
शुक्रबार क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र विभिन्न विधार्थी संगठन तथा समूहका नेताहरुबिच मतदाता नामावली लगायतका विषयमा उत्पन्न विवादमाथि छलफल चलिरहेको थियो । सोही क्रममा विद्यार्थीको एउटा समूहले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आजगनी गर्यो । आगजनीबाट शाखामा रहेको फर्निचरमा क्षति पुगेको छ ।

आगजनी गरेको आशंकामा ३ जना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूका नेता सुजित गिरी, अनेरास्ववियू क्रान्तिकारीका नेता शिवम साह र अनेरास्ववियूका नेता अभिषेक चौहान रहेका छन् । 

यता मतदाता नामावलीका विषयमा विद्यार्थी संगठनहरुले छानबिनका लागि राखेको मागलाई मध्यनजर गरि क्याम्पसका प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा छानबिन समिति पनि गठन गरिएको छ । समितिमा प्राध्यापक संघ, कर्मचारी संघ, लेखा शाखाका कर्मचारी, विद्यार्थी संघसंगठनका प्रतिनिधी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीलाई समेत रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

डा. चौरसियाका अनुसार समितिले तिनदिन भित्र (फागुन२९ गते भित्र) फागुन २१ मा प्रकाशीत मतदाता नामावलीको छानबिन गरि प्रतिवेदन बुझाउने छ । त्यसपछि प्रतिवेदनका आधारमा अन्तिम मतदाता नामावली प्रकाशीत गरि पुनः अर्को निर्वाचन कार्यतालिका प्रकाशन गर्नेछ । त्रिभुवन विश्व विद्यालयले निर्धारण गरेको चैत ५ मा हुने मतदान भने प्रभावित नहुने गरि आफूहरु अगाडि बढ्ने उनले पनि प्रष्ट पारे ।

यसैबिच शुक्रबारनै क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले राजीनामा दिएका छन् । मतदाता नामावलीमा जानीजानी फर्जि विद्यार्थीको नाम समावेश गरेको आरोप लगाउँदै विद्यार्थी संघसंगठनहरुले उनको राजीनामा मागेपछि उनले क्याम्पस प्रमुख डा. चौरसियालाई राजीनामा पत्र बुझाएका हुन् । यद्यपी उनको राजनीमा स्वीकृत नभएको क्याम्पस प्रमुख डा. चौरसियाले बताए ।

निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीमा १० हजार २ सय ३२ जना विद्यार्थीको नाम समावेश थियो । तर विद्यार्थी संघसंगठनहरुले उक्त नामावलीमा करिब ८ सय फर्जी विद्यार्थी नाम समावेश गरिएको भन्दै शुक्रबार विवाद गरेका थिए । क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र विद्यार्थी कल्याण शाखाका प्रमुखले आफू निकटका विद्यार्थी संगठनलाई जिताउने नियतले ८ सय फर्जी नाम मतदाता नामावलीमा समावेश गरेको समाजवादी विद्यार्थी यूनियनका ठाकुरराम एकाई कमिटी उपाध्यक्ष शशिकान्त सर्राफले आरोप लगाए । 

सर्राफले क्याम्पस प्रशासन र निर्वाचन समितिको नियतमाथि शङ्का गर्दै भने, ‘फर्जी भर्ना मात्र गराएको छैन क्याम्पस प्रशासनले मतदाता नामावलीमा नाम समावेश भएका विद्यार्थीहरुलाई समेत मतदानको अधिकारबाट वञ्चित गर्न खोजिरेको छ । त्यस्तै फोटोसहितको मातदाता नामावली प्रकाशित गर्नुपर्ने हाम्रो मागलाई समेत वेवास्ता गर्दै आएको छ । जसले क्याम्पस प्रशासन र निर्वाचन समितिको नियत ठिक नभएको हाम्रो ठम्याई छ ।’ उनका अनुसार मतदाता नामावलीको विषयमा छानबिन हुनुपर्ने, निर्वाचन अधिकृतले राजिनामा दिनुपर्ने, पुनः निर्वाचन समिति गठन गर्नुपर्ने पनि विद्यार्थीहरुको माग छ ।

विद्यार्थीहरुले लगाएको आरोपको खण्डन गर्दै क्याम्पस प्रमुख डा. उमेशकुमार चौरसियाले प्रमाण भए पेश गर्न चुनौती दिएका छन् । उनले विद्यार्थीहरुले उठाएको विषयमा छानविन गर्न समिति गठन गरिएको बारे जानकारी दिँदै भने, ‘एकजना कर्मचारीले विद्यार्थी भर्ना गर्ने क्रममा त्रुटी गरेका रहेछन्, हामी यसलाई सच्च्याउन् लागेका छौं । छानविनका लागि समिति पनि गठन गरेका छौँ । प्रतिवेदन आएपछि सबै कुरा प्रष्ट हुन्छ ।’


 

Back to top