×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक्सेल कलेजको नाममा अवैध रूपमा सञ्चालित शैक्षिक संस्थामा सिलबन्दी गरेको छ ।

शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि उक्त संस्थामा सिलबन्दी गरेको हो । 

महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रूपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल गरिएको हो ।’

कञ्चनजङ्घा इङ्लिस स्कुल र ज्ञान वाटिका बोर्डिङ स्कुलको ११ र १२ कक्षाको अनुमतिलाई दुरुपयोग गर्दै वीरगञ्ज – ११ एक्सेल कलेजको नाममा महानगरमा दर्ता नै नगरी शैक्षिक संस्था सञ्चालन गरेको भेटिएपछि त्यसमा सिल लगाइएको शिक्षा अधिकृत लामिछानेले जानकारी दिए । गएको वर्ष पनि महानगरले विभिन्न ९ वटा शैक्षिक संस्थामा सिलबन्दी गर्दै जरिबाना असुल गरेको थियो । 

‘विद्यार्थीको शैक्षिक प्रमाण पत्रमा कञ्चनजङ्घा र ज्ञान वाटिका बोर्डिङ स्कुलको हुने तर पढाइ हुने फरक भवनमा विद्यालयको राखिएको नाम, विद्यार्थीको आइडी कार्ड, लगायत एक्सेल कलेज किर्ते नाममा चलेको पाइयो जुन नाम महानगरपालिकामा दर्ता छैन,’ लामिछानेले भने, ‘दर्ता नभएपछि महानगरपालिकाले चिन्ने कुरा आउँदैन यस्ता नचिनिएका अवैधानिक विद्यालयहरू शैक्षिक सत्रको सुरुवातबाटै सिल गर्न सुरु गरेका हौँ ।’

महानगरपालिकाले दर्ता नभई सञ्चालन भइरहेका छद्म नामका कलेज, मन्टेसरी, कोचिङ सेन्टर, कन्सल्टेन्सी पनि सिल गर्ने तयारी गरेको छ ।

आज सिलबन्दी गर्न नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव, नगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा अधिकृत आनन्द लामिछाने, नगर प्रहरी इन्चार्ज हरि भुसाल लगायतको टोली पुगेको थियो ।

Back to top